Advertisiment

बुवाकी छोरी हुन्छु म, अर्को जुनीमा पनि ।


इच्छा गुरुङ । बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औंशी नजिकिँदै गर्दा बुवाको लागि विभिन्न उपहारहरू अनलाइनमा हेरिरहेकी थिएँ, एक दिन फेसबूकमा कुशे औंशीकै लागि

उपहार प्याक गर्ने बनाइएका ह्यान्डमेड बास्केटहरू देखेपछि म टक्क रोकिएँ ।

ती बास्केटहरू कलात्मक, सुन्दर र मौलिक मात्र थिएनन्, त्यसमा सम्वेदनाका रङ्गहरू समेत छचल्किएको महशुस गरेँ ।

इच्छा गुरुङ

त्यो बास्केट बनाउने महिला, एक त्यस्ती व्यक्तित्व जो वरिष्ठ रेडियो पत्रकार, वरिष्ठ नाट्यकर्मी, एथलेट्स् स्व. सिद्धान्तराम जोशीकी कान्छी छोरी विपुला सिद्धान्त जोशी हुन् ।

सिद्धान्तराम जोशीले भौतिक संसार छाडेको १४ वर्ष पुग्न लाग्यो तर पनि विपुलालाई हिजोजस्तै लाग्छ बाको काखमा खेलेका ती दिनहरू ।

बाको अति प्रिय विपुला बालाई दादा भनेर सम्बोधन गर्दथीन् । मसँग एक साँझको भेटमा पुराना दिनहरू स्मरण गरिरहँदा विपुलाका हरेक शब्दमा सिद्धान्तराम जोशी झल्किएको आभास गरेकी थिएँ ।

“हाम्रो पुस्ता राणाकालमा सुदूर पश्चिमबाट काठमाडौं आएका हाैँ, एक रेग्मी परिवारलाई तात्कालीन राणा सरकारबाट महाबौद्धमा बक्सीस पाएको घरमा बसोबास गर्दथ्यौं । पछि डिल्लीबजार सर्‍याैँ । तत्कालीन दरबारमा रेग्मी परिवारको पद ज्योतिष भएकोले पछि थरै परिवर्तन गरी हामी जोशी भएका हौं । तीनपुस्ते बडा सरदारको पदावी पाएका जोशी परिवारकी छोरी राजखानदानको जस्तै सुखशयलमा हुर्किने शौभाग्य पाएकी थिएँ…हरेक स्मरण उतिकै यादगार छन्, कुन सुनाउ हुन्छ ।”

विपुला पुर्वजलाई सम्झँदै नतमस्तक देखिईन् ।

“मेरा बाका सपना धेरै थिए होलान्, तर समयभन्दा अगाडि नै जानुपर्‍यो । हामी ३ दाजु र २ दिदी बहीनीलाई नै सारा खुशी सुख पुर्‍याउँदा पुर्‍याउँदै आफू जानुभयो जस्तो लाग्छ । उहाँका जीवनकर्मलाई हेर्दै हुर्किएका हामी, उहाँको लागि हामीले केही गर्न नपाउँदै स्वर्गीय हुनुभयो । बा जीवित हुँदै उहाँका सपनाहरू पूरा गर्न किन सकेनौं जस्तो लाग्छ । बाको सम्झनामा अक्षयकोष खडा गरेर, बाको तीन विधा खेलकुद, रेडियो पत्रकारिता र नाट्य क्षेत्रका लागि पुरस्कार स्थापना गर्ने ठूलो सपना छ ।”

बुवा सिद्धान्तराम जोशीले रेडियो नेपालमा कार्यक्रम गर्दा उनका समाचार वाचनशैली, कार्यक्रमको दमदार प्रस्तुति मात्र होइन उनी अभिनित हरेक नाटकका डायलगहरू सुन्दै हुर्किएकी विपुला बुवाले कमाएको ख्यातिसँगै बुवाको संर्घषका साक्षी पनि हुन् ।

“दादाले आफ्नो आत्मसम्मानमा कहिले आँच आउन दिनुभएन त्यसैले धेरै दुःख गरेर आफूलाई प्रमाणित गर्नुपर्‍यो । खेल जगतमा होस् या नाट्य क्षेत्रमा वा रेडियो पत्रकारितामा होस्, धेरै संघर्ष खेप्न परेकै हो । यहाँसम्म कि २०४६ सालमा प्रजातन्त्र आइसकेपछि काँग्रेसको सदस्यता नलिएको भन्दै रेडियो नेपालबाट बर्खास्त गरिएको थियो…।”

स्व. कलाकार सिद्धान्तराम जोशी

नेपाली नाटकको स्वर्णकालका दिग्दज कलाकार स्व. सिद्धान्तराम जोशीका मशान, अन्धबेग, सबथोक गर्नुपर्छ, बादलले छोपेको घाम आदिजस्ता चर्चित नाटकसहित सयको हाराहारीमा अन्य नाटकहरू रहेका छन् ।

लामो समयदेखि दम र किड्नीको समस्यासँग जुधिरहेका जोशीको हृदयघातका कारण २०६३ सालमा ६७ वर्षको उमेरमा निधन भएको हो ।

बुवाको स्मृतिमा शब्दाञ्जली पुस्तक प्रकाशन गरेकी विपुलासँग त्यस बखतको तितो स्मरणले मन दुखेको बताउँछिन् ।

“बुवा लामो समय सांस्कृतिक संस्थानमा जागिरे हुनुहुन्थ्यो । उहाँको वार्षिक स्मृतिमा शब्दाञ्जली पुस्तक निकाल्ने क्रममा बुवाको केही पुरानो फोटोहरू आवश्यक परेकाले सांस्कृतिक संस्थान पुगेर महानिर्देशकलाई अनुरोध गरेँ । एक कोठामा पुर्‍याइयो, जहाँ पुग्दा साह्रो नरमाइलो लाग्यो । सांस्कृतिक संस्थानजस्तो स्थानमा बालकृष्ण सम, गोपीनाथ अर्याल, स्यामदास वैष्णव, सिद्धान्तराम जोशीका तस्वीरहरू यत्रतत्र अस्तव्यस्त तरीकाले राखिएका थिए । त्यो देख्दा दिग्दज कलाकारहरूको अपमान गरेजस्तो लाग्यो । हो त्यतिबेला सांस्कृतिक संस्थानको मर्मत सम्भार हुँदै थियो तर त्यसरी राख्नु लापरवाही नै थियो । मैले बुवाको फोटोहरू लिएर गएँ । तर, त्यो अवस्था देखेर फोटो फिर्ता गर्न मन लागेन । उहाँहरूले पनि खोजी गर्नुभएन । मैले ससम्मान उक्त फोटोहरू आफैँले आर्काइभ् गरेकी छु…”

स्व. कलाकार सिद्धान्तराम जोशी नाटक प्रदर्शनका क्रममा 

बाका सपनाहरू केही अधुरा थिए की भन्ने मेरो जिज्ञाशामा विपुला एकक्षण मौन देखिईन् । उनी आफूभित्रका केही पीडाहरू र बाका यादहरू एकसाथ समेटेर आफूलाई सम्हालेर बोल्दै थिईन् ।

“मेरा बाका सपना धेरै थिए होलान्, तर समयभन्दा अगाडि नै जानुपर्‍यो । हामी ३ दाजु र २ दिदी बहीनीलाई नै सारा खुशी सुख पुर्‍याउँदा पुर्‍याउँदै आफू जानुभयो जस्तो लाग्छ । उहाँका जीवनकर्मलाई हेर्दै हुर्किएका हामी, उहाँको लागि हामीले केही गर्न नपाउँदै स्वर्गीय हुनुभयो । बा जीवित हुँदै उहाँका सपनाहरू पूरा गर्न किन सकेनौं जस्तो लाग्छ । बाको सम्झनामा अक्षयकोष खडा गरेर, बाको तीन विधा खेलकुद, रेडियो पत्रकारिता र नाट्य क्षेत्रका लागि पुरस्कार स्थापना गर्ने ठूलो सपना छ ।”

यती भनिरहँदा एक सन्तानको कर्तव्यबोध झल्किएको थियो, विपुलाका आँखा बाका यादहरूले टम्म भरिएका थिए ।

“जे छ वर्तमानमै छ । मलाई अहिले जाडो भए मेरो सन्तानले अहिले नै न्यानो खास्टो देऊन् त्यही हो प्रेम, सम्मान । मृत्युपछि दिईने र गरिने कर्म त परम्पराको निरन्तरता मात्र हो । अभिभावकलाई जीवित छँदै माया, साथ, सम्मान र समय देऊ…यति मात्र भन्छु…।”

“साथ हुँदाभन्दा नहुँदा झनै धेरै सम्झना आउने…. आज पनि बाले कराउनुभएको याद आउँछ, छुट्टिको दिन ढाड मिच्न लगाएको, बाको कपडामा खुकुरीको धारजस्तै धारिलो गरी आइरन लगाई दिएको, टीनको छानो भएको नाचघरको पहिलो लाइनमा बसेर नाटक हेर्दा बासँगै डायलग बोलेको दिनहरू याद आउँछन् ।

स्व. कलाकार सिद्धान्तराम जोशी

फेरि त्यो दिन आउँदैन…बा त स्मृतिमा मात्र आउनुहुन्छ भनेर जब यथार्थ महशुस हुन्छ तब फेरि मन रुन्छ । तर सत्य स्वीकार्नुपर्छ नै…मेरो बाको आधा शरीर मेरी आमा हुनुहुन्छ भनेर मन बुझाउँछु..’

कुराकानी अत्यन्तै भावुक बन्दै गएपछि वातावरणलाई अलि सम्हाल्न मन लाग्यो र सोधेँ । “बाका पदचाप पछ्याउने कोही छन् होला नि परिवारमा…?”

“अँ मेरो छोराको चाहना हजुरबुवाको नाममा सिद्धान्त नाटक थिएटर खोल्छु भन्ने छ, अब पछि के गर्ला त्यो हेर्न बाँकी छ…बा टेनीसको खेलाडी उहिले दरबारमा अधिराजकुमारी प्रेक्षा, रानी ऐश्वर्यलाई टेनीस खेल्न सिकाउनुभएको रे, अब नातिलाई क्रिकेटमा रूची छ…खेल्छ, नातिनीलाई कलाकार बन्ने सपना छ, २ वर्षको उमेरदेखि अभिनय गर्न थालेकी छ….”  यतीखेर एक आमाको खुशी बोलिरहेको थियो ।

अबको नयाँ पुस्तालाई केही भन्नु छ कि भन्ने मेरो जिज्ञासामा विपुलाको प्रष्ट र खरो जवाफ थियो ।

 

“जे छ वर्तमानमै छ । मलाई अहिले जाडो भए मेरो सन्तानले अहिले नै न्यानो खास्टो देऊन् त्यही हो प्रेम, सम्मान । मृत्युपछि दिईने र गरिने कर्म त परम्पराको निरन्तरता मात्र हो । अभिभावकलाई जीवित छँदै माया, साथ, सम्मान र समय देऊ…यति मात्र भन्छु…।”

अन्तमा मेरो अर्को जिज्ञासा थियो, बुवाको मुख हेर्न दिनमा के गर्नुहुन्छ ?

“म औंशीको दिन बुवालाई भन्दा अरुलाई सम्झनै चाहन्न, मेरो बा, मेरो दादा जानुभएको होइन, उहाँकी छोरी म उहाँको अंश मसँगै छ भनेर सम्झन्छु ।’

मैले लामो सास फेरेँ । विपुला मुसुक्क हाँसिन् ।

यो लेखलाई बिट मार्दै गर्दा नेपाली चलचित्र स्वर्गको एउटा गीत याद आयो ।

“बुवाकी छोरी हुन्छु म, अर्को जुनीमा पनी…”

कुशे औंशी विशेष ।।।

 

इच्छा गुरुङका अन्य लेखका लागि यहाँ क्लिक गर्नुहाेस्

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment