लक डाउनको ओखती छैन हो सरकार ! सरकारचाहिँ कर तिर भन्छ कसरी तिर्नु…

पढ्न लाग्ने समय : मिनेट

इच्छा गुरुङ । दिन गन्दागन्दै कोरोनाको त्रासले लक डाउनमा घरमै बसेको अढाई महिना बितिसकेछ ।

घरमै बसेर कसरी दिन कटाउने भन्ने लाग्थ्यो पहिले त, तर बस्नुको विकल्प नै थिएन सुरूवाती दिनहरूमा । जसले हाम्रो जीवनको गती ठप्पजस्तै भयो ।

… समय त नरोकिने रहेछ निरन्तर आफ्नै प्रवाहमा हिँडिरह्यो, मानवजातिलाई भने संकटमा धकेलिरह्याे ।

सुरूवाती दिनहरूमा लक डाउन यतिसम्म लम्बिएला भन्ने सोचिएको थिएन तर पटक पटक थपिँदै गएको लक डाउन नागरिकलाई भने गलपासो बन्दै गयो ।

त्यसबीचमा कोरोनासँग जोडिएर आएका विभिन्न भ्रष्टाचारका पाटोहरूले झन् नागरिकमा सरकारप्रति वितृष्णा बढ्दै गयो ।
“पटक पटक साबुन पानीले मिचीमिची हात धुनुहोस् , घरमै बस्नुहोस् , सामाजिक दूरी कायम गर्नुहोस्” भन्ने वाक्यहरू सुन्दासुन्दै झर्को लाग्ने हुँदै गयो ।

लक डाउनले नागरिकको दैनिकी कसरी लक गरिदियाे ??

लक डाउनका दिनहरूमा बाहिर भेट भएका सबै वर्गका नागरिकहरू धेरैसँग कुराकानी गरें जसमध्ये केहीका भोगाइ उदाहरणको रूपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु । जसबाट लक डाउनले नागरिकको दैनिकी कसरी लक्ड भएको छ त्यो छर्लङ्ग हुन्छ ।

भक्तपुरमा भेटिए ८१ वर्षीय कर्ण बहादुर फोटेजा ।

८ दशक जीवन बिताइसकेका फोटेजाले यस्तो बन्दाबन्दी कहिल्यै नभोगेको बताउँछन् ।

धर्मकर्म गरेर शान्त जीवन बिताइरहेका उनलाई जीवनको उत्तरार्ध्दमा अहिले एक चिन्ता सुरू भएको छ ।

“छोराको व्यवसाय बन्द छ, छोरा बुहारी, नाति नातिनी र हामी बुढाबुढीको जीवन गुजारा कसरी चलाउने यो पीरलोले मन भतभती पोल्छ नानी….।”

उहाँको जस्तै हाम्रो समाजमा एक जनाको कमाइमा परिवारै भर पर्न पर्नेहरू धेरै छन् ।
दोलखाका नारायण बस्नेत अति न्यून आर्थिक आय भएका अर्का एक पात्र जो ब्लड क्यान्सर भएकी कमजोर श्रीमती डोर्याउँदै भक्तपुरमै भेटिए ।

उनकी ३० वर्षीया श्रीमती विगत ६ महीनादेखि ब्लड क्यान्सर रोगबाट पीडित छिन् । उनले श्रीमतीको भक्तपुर क्यान्सर अस्पतालमा जसोतसो उपचार गराई रहेका छन् ।

“डाक्टरले श्रीमतीलाई अन्तिम स्टेजको ब्लड क्यान्सर छ, अब बाँच्दिन भनिसक्यो… ।”
तैपनी बाँचुञ्जेल आश भनेजस्तै रगत चढाइरहनुपर्ने भएकोले उनी लक डाउनमा पनि वरपर चन्दाको लागि हात फैलाउँदै हिँडिरहेका छन् ।
प्रहरीले हप्कीदप्की लगाएर खेदिरहन्छन् तर पनि ती दम्पत्ति सहेर नै सहयोगको लागि अनुनय विनय गरिरहेका छन्, भेटिएका सबैसँग ।

कोठामा रहेका २ छोराहरू भोकै छन् भन्दै रुन्छन् घरिघरी ।

अरु उपचार नहुने र श्रीमती मर्ने दिन कुर्न पर्ने भएपछि उनी आफ्नो गाँउ दोलखा फर्कन चाहन्छन् तर लक डाउनले गर्दा त्यो सम्भव नभएपछि बस्नेत दम्पत्ति रोग, भोक, शोकसँग यही निर्दयी शहरमा निसास्सिरहेका छन् ।

अर्को एउटा प्रशङ्ग :

मंगलबजारका एक युवा पसल खोलेर बसेको भेटियो ।

२ महिना त पूरै बन्द गरेका उनले केही दिन यता पसल बिहान बेलुका मात्र भए पनि खोल्न थालेका छन् तर ग्राहक मुस्किलले हातमा गन्न सकिने मात्र छन् । “सरकारचाहिँ कर तिर भन्छ कसरी तिर्नु…” उनले टाउको कन्याउँदै भने ।

उक्त पसल भएको सटर उनको आफ्नै दाजुको हो ।
नाता सम्बन्ध जे भए पनि आफूले दाजुलाई लक डानमा बन्द हुँदाको पनि भाडा तिर्नुपरेको बताउँछन् ।
यस्तै, भक्तपुरमा एक वृद्ध भेटिए ।

आफू एक जना मात्र अट्ने साँघुरो सानो किराना पसल चलाउँदैछन् विगत २७ वर्षदेखि । उहिले रु. ३ सय ५० भाडाबाट सुरू भएको उनको पसलको भाडा अहिले ९ हजार पुगेको छ ।

त्यही सानो पसलबाट ७ जनाको परिवार चलाउँदै आएको उनलाई अहिले लक डाउन निल्नु न ओकेल्नु भएको छ । एकक्षाण खोल्यो भने प्रहरी आएर बन्द गर्न लगाउने उनी बताउँछन् ।

घुम्दै जाँदा एक रेष्टुरेण्ट सञ्चालक भेटिएका थिए ।

“सरकारले लक डाउन अवधिको भाडा मिनाहा गर्नु भनेकाे छ…..तर कर तिर्न निश्चित मिति तोकेरै ताकेता गर्छ त्यसो भएपछि घरबेटीले घर बनाउँदा लिएको लाखाैंको ऋण तिर्न बैंकले ताकेता गरेको छ भनेर भन्छ अनि बन्द हुँदाको भाडा नतिरे भोलि घर खालि गर भन्छ उसलाई के छ …कतातिरको मारमा पर्ने हामी ?”

उनको गुनासोले धेरै जसोको मनको पीडा बोलिरहेको थियो ।

एक दिन तारकेश्वर क्षेत्र पुगेकी थिएँ । बाटोमा ठेलामा काँक्रा बेच्दै गरेकी एक महिला भेटिइन् ।

२ रोपनी जग्मौगामा समअनुसारको तरकारी  लगाउँदै आएकी छिन्, उनको आफ्नै व्यथा थियो ।

“लक डाउनले सुरूको एक बाली काँक्रा बारीमै कुहियो लगानी खेर गयो, त्यस पछिको लक डाउनले औषधी आएन, तैपनि अलिअलि फलाइयो । यसरी ठेला धकेल्दै बाइपास बालाजु घुम्दा पनि बिक्दैन, बाहिरबाट आएको काँक्रा प्रतिकिलो १० रुपैयाँमै पाइँदो रहेछ मेरो रासायनिक औषधी नहालेको अर्गानिक काँक्रा कुहिनुभन्दा ४० रुपैयाँ किलोमा बेच्दा पनि बिक्दैन…”

सबैतिर लक डाउन जारी रहँदा जीवन नै धरासायी बन्दै जाँदा कोरोनाको संक्रमण पनि हरेक दिन बढ्दै गएको छ ।

कोरोनाको डर त्रासले मानसिक तनाव त बढेकै छ….

विश्वभरको पछिल्लो विवरण हेर्ने हो भने कोरोनाको प्रकोप बढ्दो छ तर अमेरिकाबाहेक युरोपका धेरै देशहरूमा संक्रमणको अनुपात हेरेर विकल्पका बाटोहरू पनि अपनाउँदै लक डाउन कतै खुकुलो त कतै हटाएको छ ।

नेपालको अवस्थामा पनि कोरोना संक्रमण बढेको देखिएको छ ।

संक्रमित संख्याको तुलनामा मृत्युदर एकदम न्यून छ ।

बालकदेखि वृद्धसम्म निको भएर सयाैंको संख्यामा घर फर्किरहेका छन् ।

कोरोना विरुद्ध न कुनै भ्याक्सिन वा औषधी बन्न सकेको छ तर पनि उपचार भएर स्वस्थ हुनेहरू धेरै छन् ।

कोरोनाको डर त्रासले मानसिक तनाव त बढेकै छ त्यसलाई समयमै व्यवस्थापन गर्न नसके अर्को विकराल समस्या सुरू हुने निश्चित छ ।

कोरोनालाई प्रचार गरिएजस्तो भयंकर महामारी नभइ एक प्रकोपको रूपमा हेरेर त्यसबाट सुरक्षित हुँदै विकल्पका बाटोहरू खोजिनुपर्ने जनआवाज उठिरहेका छन् ।

धेरैको मनमा सधैंको बन्दाबन्दीले जीवन चलाउन सकिँदैन अब कोरोनासँग जुधेरै काममा फर्कनुपर्छ भन्ने सोचको विकास हुँदै गएको छ ।

त्यसैले लक डाउनको विकल्परूपी ओखती बेलैमा खोज्नु आजको आवश्यकता हो ।

#लकडाउन_डायरी
#गल्ली_गल्लीका_कथाहरु