मास्कले छोपियो लाली, नयनहरू मुस्कुराउँछन् अचेल…..(लक डाउन डायरी)

पढ्न लाग्ने समय : मिनेट

इच्छा गुरुङ । लक डाउन भएपछि २ महिना त घरमै बसियो तर बिस्तारै एक किसिमको झिझोपना महसुश हुनथालेपछि अब कोरोनाको त्रासलाई बिस्तारै हटाउनुपर्छ भन्ने सोच मनमा आउन थाल्यो ।

सुरक्षित भएर नै बाहिर निस्कनुपर्छ भन्ने आत्मविश्वास राखेर म बाहिर निस्कन थालेँ ।

एक दिन हिम्मतले भक्तपुर पुगेँ ।

खालि सडकमा फाटफुट मान्छेहरू, सुरक्षाकर्मीहरूको लहर मात्र देखिन्थ्यो ।

दरबार क्षेत्रमा पुग्दा भने घरबाहिर बसेर वारिपारी नेवारी भाषामा गफगाफ गर्दै गरेका स्थानीयहरू देखियो ।

त्यस क्षेत्रमा जाँदा सिद्ध पोखरीनिर स्कुटर राखेर हिँड्नुको आन्नद बेग्लै लाग्छ मलाई ।

पुराना ईंट्टाका घरहरूबीचका ईंट्टा बिच्छाइएका गल्लीहरू डुल्नुको मज्जा बेग्लै ।

लक डाउनले आँत्तिएका अनुहारहरू, टोलमा नयाँ मान्छे देखेर चासो दिएर हेर्थे अनि खिसिक्क हाँस्थे, म पनि मास्क भित्रैबाट मुसुक्क हाँसिदिन्थेँ ।

एक अर्काको आँखा मात्र हाँसेको देखिन्थ्यो हामी ठीकै छाैं है भनेको हो किजस्तो भान हुन्थ्यो मलाई ।

गल्लीहरू छिचोल्दै दरबार क्षेत्रमा पुगेँ ।

गेटबाहिरको चोकमा ३, ४ जना केटाकेटीहरू खेलिरहेको भेटियो ।

स्कुल बन्द छ, घरमा कति थुनिऊन् ? बिचराहरू एकक्षण बाहिर निस्किएका होलान्, हाकु पटासी लगाएकी हजुरआमा खोज्दै आइपुगिन् । नातिको हात समातेर घरतिर डोर्याउन लागिन्, भोलि खेल्ने है…’ भन्दै बालकले साथीहरूलाई हात हल्लायो ।

आखाँले देखिनेसम्म हेरिरहेँ बालक र हजुरआमा बिस्तारै गल्लीभित्र छिरेर अदृश्य भए ।

लक डाउन सुरू भएपछि सार्वजनिक क्षेत्रमा सर्वसाधरणलाई प्रवेश निषेध गरिएको कारण दरबार क्षेत्रभित्र पस्दै गर्दा आइडी कार्ड देखाएर मात्र प्रवेश अनुमति पाएँ ।

शून्य… शान्त थियो दरबार क्षेत्र, पुनर्निर्माणका कामहरू फाटफुट भइरहेका थिए ।

सुनसान अलि नरमाइलो जस्तो लाग्ने, ठिङ्ग उभिइरहेको राजा भुपतिन्त्र मल्लको शालिक पनि बिराठीलो लाग्यो ।

अलि पर पुगेँ एक छेउमा एक जना वृद्ध ४ तह सिँढीमाथि हातमा सानो किताबजस्तो लिएर पढिरहेको देखेँ ।

यस्तो बेलामा उहाँको अनुभव कस्तो होला भन्ने मनमा कौतुहलता जाग्यो ।

म पनि ४ तला सिँढी उक्लँदै उनको नजिक पुगेँ ।
‘बा नमस्ते’
‘नमस्ते नानी’ औपचारिकतापछि हाम्रो कुराकानी अघि बढ्यो ।
‘बा ले यहाँ बसेर के पढ्दै हुनुहुन्छ…’
‘गीता पढेको …’
‘अनि लक डाउनमा कस्तो लाग्दैछ त बा लाई’
‘कस्तो हुनु खै, ८१ वर्ष भइसकेँ, यस्तो कहिल्यै देखेको थिईंन..यो उमेरमा आएर यस्तो भोग्नुपरेको छ …’

भक्तपुर निवासी बा’को नाम कर्णबहादुर फोटेजा ।

९६ सालमा जन्मिएका उनी त्यो बेलाको म्याट्रिकमा फेल भएको भनिरहँदा मजाले हाँसे ।

३० वर्ष सरकारी जागिर खाएर २०५२ सालमा रिटायर भएको बताउँछन् उनी ।

वन मन्त्रालय, तथ्याङ्क विभाग, बजार सेवा विभागजस्ता स्थानमा ३ दशक बिताएका कर्णबहादुर बा’सँग कुरा गर्दे जाँदा निकै गजवको स्मरण सुन्न पाइयो ।

कर्णबहादुर फोटेजाकाे साथमा इच्छा गुरुङ

‘बा’को पहिलो तलब कति थियो त्यती बेला ?’
‘६५ रुपैयाँ थियो पहिलो तलब…’ फेरि हाँसे बा ।
‘पहिलो तलब के गर्नुभयो नि…’ मलाई पनी उहाँको स्मरण चाख लाग्दै गयो ।
‘आफूलाई खाजा खाने पैसा राखेर अरु घरमा दिन्थेँ..त्यो बेला एक मोहोरको टन्न खाजा आउँथ्यो…’ बा पुरानो दिनमा पुगे ।
‘…अनि बिहे कति वर्षमा गर्नुभो बा..?’

‘१२ वर्षको म, बुढी १० की थिई…’
‘बेहुला भाको याद छ त…’
‘अलि अलि याद छ…केही थाहा थिएन पुरेतले जे–जे भन्यो त्यही गरेँ..’
बा’ले ती दिनहरू सम्झँदै भने ।

कुराकानीकै क्रममा बा’ले तराईका जिल्लाहरूमा जाँदा भारत हुँदै जानुपर्ने बताउँदा म त छक्कै परेँ ।

‘२७—२८ साल तिरको कुरा हो, त्यो बेला पूर्व–पश्चिम राजमार्ग बनेको थिएन, बिराटनगरमा सरुवा भएको थियो । घर आउँदा बिराटनगरबाट भारतको कटियारा, समस्तीपुर, बरौनी, रक्सौल हुँदै काठमाडौं आउने बस चल्थ्यो…नेपाल आउन भारत हुँदै आउनुपर्ने, राजमार्ग बनेपछि मात्र आवागमन सजिलो भयो…’

तराईका विराटनगर, राजबिराज, सप्तरी, वीरगञ्ज, लाहानजस्ता स्थानमा जीवनका महत्वपूर्ण समय बिताएका पुर्ण बा’ले तराईमा मसिना चामलको भात १ रुपैयाँमा खाएको अझै सम्झिरहने बताउँछन् ।

रसिला बा’लाई मैले एक प्रश्न सोधिहालेँ ।
‘बा’ तन्नेरी हुँदा धेरै बाहिर बस्नुभएछ, तराईका राम्री युवती जिस्काउनुभयो कि भएन त….’
‘जिस्काएँ नि ….’ यती भनेर बा मज्जैले हाँसे ।
तात्कालीन पञ्चायती व्यवस्थाकालमा जीवनको स्वर्ण समय बिताएका पुर्ण बा’लाई त्यही बेला राम्रो लाग्छ रे ।

‘आजकलको व्यवस्था रामै्र हो तर खालि खाने दाउ मात्र क्या…’
जे जस्तो भए पनि, उनले आफ्नो मताधिकार भने प्रयोग गर्दै आएको बताउँछन् ।
‘अनि बा’ले राजनीति गर्नुभयो कि भएन त…उ बेला..’
‘सरकारी नोकरी गरेकाले पनि कतै राजनीति गर्छन् त…? महेन्द्र राजाको पालामा सरकारी नोकरी गर्नेले राजनीति गर्न कहाँ पाउँथ्यो र…पार्टीहरू त प्रतिबन्धित थिए उ बेला….’

उहाँसँगको कुराकानीबाट उहाँ देशका सबै घटनाक्रमहरूसँग जानकार अनि सचेत नागरिक रहेछन् भन्ने प्रष्ट हुन्थ्यो ।

‘अब त रिटायर हुनुभयो कस्तो छ त अहिलेको जिन्दगी बा ?’

‘अहिले त बुढो भइयो…बिहानै ३,४ बजे उठेर रेडियोमा भजनहरू सुन्छु, नित्यकाम सकेर ८ बजे चिया पिएर हिँड्न यतै आउँछु, १० बजे फर्कन्छु, खाना खाएर आराम गर्छु, खाजा खाएर ४ बजे फेरि हिँड्न निस्कन्छु, ७ बजे खाना खाएर साँढेआठतिर सुत्छु…यस्तै हो नानी …’

बा’को आफ्नै टाइम टेबल रहेछ । एक छोरा, एक छोरी अनी दुवैतिरका ८ जना नाति–नातीनीहरू रहेछन् ।

नाति र नातीनी ले ३ महिना अष्ट्रेलिया घुमाइदिएका पनि उनले बताए ।

‘नानी कता काम गर्ने हो नि…’  पुर्ण बा’लाई मेरो बारेमा जान्ने इच्छा जागेछ ।
‘म मल्टिमिडियामा काम गर्छु, यो तपाईको कथा भने अनलाइन साइटमा लेख्छु…’
‘यो अनलाइन साइट भनेको के हो नानी..?’

‘यो नयाँ प्रविधि हो बा, इन्टरनेटको माध्यमबाट देश विदेशका समचारहरू आदानप्रदान गर्नेलाई अनलाइन साइट भन्छन्, कम्प्युटर, मोबाइलमा हेर्न मिल्छ…’

‘त्यो कसरी हेर्न त …?’

मैले उदाहरणको लागि कम्प्युटर, मोबाइलमा www.nayasanchar.com टाइप गरेर समाचार हेर्न मिल्ने बताइदिएँ ।

‘अनि यो www भनेको के हो त फेरि…’
‘www भनेको वर्ल्ड वाइड वेभ हो बा, इन्टरनेटबाट मात्र चल्छ…’
उहाँले बुझ्ने सरल भाषामा अथ्र्याइ दिएपछि बा’ले बुझेझैं टाउको हल्लाए ।
‘मलाई यहाँ लेखिदिनु त नानी बिर्सिन्छु फेरि…’

एउटा कागजको पन्ना निकालेर बा’ले मलाई दिए, मैलै सबै लेखेर दिएँ ।

उनले बडो जतनले पट्ट्याएर खल्तीमा राखे । जीवनको ८ दशक नाघिसकेका वृद्धमा युवामा जस्तै केही कुरा नौलौ लागे जान्ने बुझ्ने उनको बानी साँच्चै गजब लाग्यो ।

‘बा अब साँझ पर्न लाग्यो घर जानुपर्छ है ।’
‘हो त..उज्यालो मै पुग्नुपर्छ नानी…म नी जान्छु अब…’
‘ल बा स्यानिटाइजर लगाऔँ है..’ हामीले स्यानिटाइजर लगायौं ।’
‘यत्तिका कुरा गर्यौं …नानीको मुख देख्नै पाईंन नि त..’  बा’को यो वाक्यले साँच्चै मन छोयो ।

हामी घण्टौं बात मारेर धेरै कुरा आदानप्रदान गरेर पनि अपरिचितजस्तै भयौँ कि झैं लाग्यो ।

मैले मास्क खोलेँ ।
‘बा’ले फेरि भेटे नचिन्नु होला तर म बिर्सिन्न नि …फेरि–फेरि आउँदा यता देखेँ भने बा भनेर बोलाउँछु है…’
‘हुन्छ नानी हुन्छ ।’ बा उठेर घर जाने तरखर गर्न थाले ।
‘ल बा, जाने बेलामा एउटा फोटो खिचम् है त …यता हेर्नुस् त…हाँस्नुहोस् है…’

सेल्फी मोडमा मोबाइलको क्यामरा मिलाएँ, बा मुसुक्क हाँसे, एक अनुपम याद खिचिक्क पारेर म बिदा भएँ ।

कारोना र लक डाउनले जुराएको पुर्ण बा’सँगको स्वर्णिम याद क्यामरामा मात्र होइन मनमा रहनेछ जीवन रहेसम्म ।

#लक_डाउन_डायरी
#गल्ली_गल्लीका_कथाहरू