Advertisiment

धनकुटाको चाैबीसेमा एम्बुलेन्स प्रदान


सन्तोष रुचाल, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले कात्तिक २ गते धनकुटाको चौबीसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्नुभएको छ ।

नेकपा नेता भण्डारी सहित चौबीसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबीसे गाउँपालिकालाई प्रदान गर्नुभएको हो । चौबीसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।

भण्डारीसहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आउनुभएको छ । उहाँहरूले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गर्नुभएको हो ।

गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले हनाकहमा ज्यान गुमाउनुको साथै सास्ती व्यहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिएको संविधानसभा सदस्य हेमराज भण्डारीले बताउनुभयो ।

गाउँपालिकामा कार्यक्रम आयोजना गरी दाताहरूले गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको छ । अब गाउँपालिकाले नै उक्त एम्बुलेन्स सञ्चालन गर्नेछ ।

कार्यविधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराईने चौबीसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयो । गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्ने दाताहरूलाई गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

गाउँपालिकाले अबिर, दोसल्ला, माला लगाई सम्मान–पत्र सहित एम्बुलेन्सदाताहरूलाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment