Advertisiment

आले दाईकाे टिकटिके घडी…


इच्छा गुरुङ । सडकको छेउमै ध्वाँसो लागेको पुरानो ईंट्टाको ससाना चाङबीच सानो ईंट्टाको चुलो, टुक्रा–टुक्री दाउराहरू छेउमा समेटिएका, ससाना पुराना डिब्बाहरू ती ईंट्टाकै डिलहरूमा अडिएका छन्, छेउमै सानो थोत्रो टुटी भएको बाल्टी ।

जसको ठीक मुनि सानो जर्किन आधा काटेर थापिएका छन् । त्यहाँ एक दुई कप जूठो गिलास लडेका छन् ।

पोका दूध सानो चिया गिलासमा कयौं वर्षदेखि प्रयोग गरिएका काला–काला ताप्केहरूमा नाप्दै हाल्दै गरेको एक वृद्ध, जो आफ्नो छेउहुँदै गुड्ने, हिँड्ने कोहीकसैलाई पर्वाहै गर्दैनन् ।

शरीर ढाक्ने झुत्रो पुराना कपडा, खरानीले फुटेर चर्किएका हातहरू, अनि निधारमा दुःखका कयौं धर्साहरू प्रस्टै देखिन्छन् । सानो कदका उनी आफ्नै लयमा बगिरहेको नदीझैं लागिरहन्छन् । छेउमै उभिएका ग्राहकलाई चिया दिन कुप्रिएका ढाड उठाउँदै यसो हेर्छन् मात्र, तर हाँस्दैनन् कत्ति पनि ।

शरीर ढाक्ने झुत्रो पुराना कपडा, खरानीले फुटेर चर्किएका हातहरू, अनि निधारमा दुःखका कयौं धर्साहरू प्रस्टै देखिन्छन् । सानो कदका उनी आफ्नै लयमा बगिरहेको नदीझैं लागिरहन्छन् । छेउमै उभिएका ग्राहकलाई चिया दिन कुप्रिएका ढाड उठाउँदै यसो हेर्छन् मात्र, तर हाँस्दैनन् कत्ति पनि ।

इच्छा गुरुङ

हरेक दिन धरहरा छेउबाट तलेजु भवानीको मन्दिर हुँदै अगाडि जाने सानो सडकको छेउमा उनलाई देखेपछि मनमा एक किसिमको बेचैनी छाउने गर्दथ्यो ।

सोचें, एक पटक उनीसँग बात मार्न पाए हुने, मेरो मनमा धेरै कौतुहलता थिए । जीवनको यो समयमा उनको त्यो अवस्था देखेर, धेरै त्यो बाटो हिँडिरहँदा म उनलाई हेर्दै जान्थेँ ।

एकदिन मैले उनलाई देखिन भने मन खिन्न हुन्थ्यो, र अनेक तर्कना मष्तिस्कमा मडारिन्थे ।

धेरै दिनसम्म उनलाई हेर्दै हिँड्दै रहेँ । खै थाहा छैन किन मसँग त्यती धेरै आत्मियता थियो, उनको बारेमा म धेरै नै सोचिरहन थालेँ, वृद्ध अवस्थामा उनको कोही छैन होला र ? परिवारको बारेमा पनि सोचिरहन्थेँ । अन्ततः मनको बैचनीलाई मेट्ने निधो गरेँ मैले ।

दिनहुँजसो पानी अलिअलि परिरहेकोले चिसो चिसो एक बिहान त्यही बाटो हुँदै जादा उनलाई भेट्ने निधो गरेँ ।

स्कुटर तलेजु भवानीको मन्दिर अगाडीको खाली ठाउँमा राखेर त्यही छेउमा बस्ने एक महिलालाई उनको बारेमा सोधेँ ।

उनि तलेजु भवानीको मन्दिर परिसरकै सानो कोठामा बस्ने ती महिलाले बताइन् । बाँकी कुरा उसैलाई सोध्नुस् भनेपछि म उतै लागेँ, जहाँ उनी त्यही ईंट्टाको थुप्रो छेउमै कालो ताप्केमा चिया हल्लाउँदै थिए ।

‘दार्ई चिया बन्छ…?’ उनले मलाई हेर्दै हेरेनन् । शब्द बिना…टाउको हल्लाएर बन्छ भने ।

‘यहाँ बस्ने मुडा छैन .?’

उनले सँगैको ठेलावालाको मुडा देखाउदै त्यता बसेनी हुन्छ भने ।

तर मलाई त उनीसँग धेरै बात मार्न मन थियो, ‘भो अरुकोमा त बस्दिन म…’ भनेर म उनको चुलो छेउमा टुसुक्क बसेँ । त्यती बेलासम्म मलाई लागिसकेको थियो उनी ज्यादै कम बोल्छन् ।

‘म तपाईंको फोटो खिच्छु है…?’ मैले साहस गरेर अनुमति मागेँ । मैले धेरै पटक सुनेकी थिएँ यस्तै कुराकानी गर्न र फोटो खिच्न खोज्दा रिसाउँछन् भनेर त्यसैले उनको अनुमति लिन चाहन्थेँ ।

त्यसरी सोधिरहँदा म उनको अनुहारको भाव नियालिरहेकी हुन्थें । उनले मतिर हेर्दै नहेरी हुन्छ भनेर अनुमति दिए ।

उनी मेरो लागि चिया बनाउँदै थिए । त्यती बेलै झोलाबाट क्यामरा निकालेर धमाधम मैले केही फोटो र भिडियो खिच्न भ्याएँ ।

सिनित्त परेको सिसाको गिलासमा चिया छानेर उनले मतिर चिया अगाडि सारे ।

‘धन्यवाद …’ रंग कडा, बाफिलो चिया समातेर केही गफ गर्ने सुरमा थिएँ म ।

‘दाईको चिया त टन्नै बिक्रि हुन्छजस्तो छ.है…?’ मैले कुरा सुरू गरेँ ।

‘बिहान बेलुका गरेर आठ, दश पोका दूध जान्थ्यो पहिले, अहिले त छैन व्यापार…लक डाउनले मान्छे नै छैन…।’
‘दिनभरि बस्नुहुन्छ कि ?’

‘दिउँसो त खासै मन्छे आउन्नन् क्या..बिहान बेलुका हो चिया जाने…अलि–अलि बिक्छ, अहिले त २ पोका दूध बल्ल–बल्ल बिक्छ…त्यही पनि कहिले त दुध जमेर खेर जान्छ ।’

उनको कोठामा फ्रिज भएको भए जम्दैन थियो होला..तर कताबाट हुनु र…मेरो मनले बात जवाफ दियो ।

‘सबेरै कति बेला उठ्नुहुन्छ त ?’

‘तीन चार बजे…कहिले चार पाँच बजिहाल्छ ।’

भाँडाकुँडा पखाल्ने पानी कताबाट ल्याउँछन् होला भन्ने मनमा लागेर सोधेँ उनैलाई ।

सुन्धारा वरपर होटल, लजहरू धेरै भएकोले उनलाई सहज भएको रहेछ । होटेलहरूमा पानी ल्याउँदा ट्र्याक्टरका ड्राइभरहरूले ट्यांकरमा पानी खसाल्ने बेला अलिअलि दिने पानी बाल्टीमा थापेर जोहो गर्दा रहेछन् । घाम पानी छल्न, रात बिताउँन तलेजु मन्दिरभित्र सानो ठाउँ भने पाएका रहेछन् ।

‘ए साँच्ची तपाईंको नाम के हो ?’

‘सबैले आले दार्ई भन्छन्….’ करिब आधाघण्टा बात मारेपछि यस पटक भने उनी मुसुक्क हाँसे ।
‘तपाईं मगर पर्नुभएछ’, मैले यसो भन्दा बाले ठाडै इन्कार गरे ।

‘….होइन, म तामाङ हो ।’

उनको नाम आले दार्ई कसरी रह्यो त भन्दा, खास कारण काठमाडाैं आएपछि होटल साहुले आले नाम राखी दिएको रे । खासमा आफ्नो नाम लुले भन्ने स्मरण गर्छन् । उनी ढिलो हिँड्ने भएकोले गाँउमा उनलाई लुले भनिएको रे ।

अनि उमेर कति पुग्नुभयो त भन्ने प्रश्नमा, आफूलाई उमेर थाहा नै नभएको बताउँछन् । अन्दाजी ५० कै हाराहारीमा होला भन्ने अडकल मात्र काटें मैले पनि । तर जीवनमा दुःख अनि कठिन भोगाईहरू सहेका उनलाई हेर्दा अरु बढी उमेरका पनि देखिन सक्छन् ।
‘ए… अनि घर कता पर्यो त आले दाईको ।’

बिस्तारै उनी पहिलेभन्दा अलि खुल्दै थिए । पढ्–लेख गर्न नआउने दूध १ रुपैयाँ माना हुँदा काठमाडौं आएको र दक्षिणकाली, लामा गाउँमा जन्मिएको उनले बताए ।

आफ्नो कोही नभएको, बा–आमा सबै बितिसकेको, आफन्त त थिए होलान् तर उनको कोहीसँग सम्पर्कै नरहेको उनले बताए ।

बा–आमाको बारेमा मलाई अझै कौतुहलता मेटिएको थिएन ।

‘तपाईंलाई बा–आमा कता छन् थाहै छैन हो …?’

धेरै पटक सोध्यो भनेर हो कि एक क्षणपछि बल्ल भने, ‘आमा तराईतिर पोइला जानुभयो भन्ने सुन्या हो, बाचाहिँ यतै चौकीदार काम गर्थे रे, एक–पटक भेट भएको नि थियो, तर वास्तै भएन त्यती बेला…।

सानैमा यता आएको बा–आमा के हो थाहा नै छैन । पछि बा यतै बिते रे भन्ने सुने…।’

‘अनि तपाईंले बाको अन्तिम संस्कारको काममा जानुभएन त…?’

‘गईंन…।’

यतिबेला मैले उनको अनुहार पढ्ने कोशिस गरेँ । चाउरिएर ३२ मुजा परेका उनका मुहारमा कुनै भाव थिएन ।

एक्लै जीवन हाँकेर यहाँ आइपुग्दा आफन्त, परिवार के हो उनले पूरै भुलिसकेका थिए सायद ।

‘एक्लै हुनुहुँदो रहेछ…सन्चो बिसन्चो हुँदा..गाह्रो होला नि तपाईंलाई…।’

‘बिरामी खासै भा’को छैन…कहीलेकाहीँ सिटामोलचाहिँ खानुपर्छ..’ उनको जवाफले मलाई लाग्यो कोही नहुनेको भगवान हुन्छन् भन्थे हो रहेछ ।

‘अनि दाईले विवाह गर्नुभएन त, जहान छन् कि छैनन् नि…।’

‘छैन…’ एक शब्दमै उनले उत्तर दिए ।

‘कोहीले पत्याएन कि क्या हो उहिले..’ मलै अलिकती उनको मनलाई फकाउन पनि प्रयास गरेँ, केही खुल्छन् कि भनेर ।

मेरो प्रश्नले आले दार्ई मुजा परेका गाला झन् खुम्च्याउँदै मुस्कुराए तर उत्तर दिएनन् ।

‘अनि काठमाडौं कति सालमा आउनुभो त…’

एकक्षण गम खाँदै उनले भने, ‘दुध चिया १ रुपैयाँ, पानी मिसाको चिया एक मोहोर पथ्र्यो त्यो बेला…साल त था’छैन…।’

म दङ्ग परेँ ।

१ रुपैयाँमा दूध मात्र हालेको, एक मोहोरमा पानी मिसाएको चिया पाउने साल कहिले होला मलाई अचम्मै लाग्यो, यसो सोचे अहिले त थारै भनेको २० रुपैयाँ पर्छ ।

महङ्गो होटेलमा त साधरण चियाको ३०० सम्म पर्छ ।

नागरिकता छ कि छैन नि…भन्ने प्रश्नमा आले दाईले छैन भन्दै टाउको हल्लाए । त्यो सुन्दा मेरो मन अमिलो भयो ।

न सरकारी जागिर खानुछ, न विदेश जानुछ, न भोट हाल्नुछ, न केही व्यवसाय गर्नुछ, सानैमा घरबाट निस्केर ठूलो शहर काठमाडौंको गल्लीगल्लीका चिया पसल, ससाना होटेलहरूको श्रम संसारमा हराएका उनलाई सायद नागरिकताको आवश्यकतै परेन होला ।

न सरकारी जागिर खानुछ, न विदेश जानुछ, न भोट हाल्नुछ, न केही व्यवसाय गर्नुछ, सानैमा घरबाट निस्केर ठूलो शहर काठमाडौंको गल्लीगल्लीका चिया पसल, ससाना होटेलहरूको श्रम संसारमा हराएका उनलाई सायद नागरिकताको आवश्यकतै परेन होला ।

जीवन यात्रामा कुनै बेला नागरिकता आवश्यकता परेको भए पनि कसले बनाईदिने…न बा–आमा न त आफन्त नै भएका । कोही आफन्त भएको भए पनि थाहा नभएको बताउने उनी एक नेपाली नागरिक भएर पनि गुमनाम जीवन बिताइरहेका छन् ।

‘लामा गाउँको याद आउँछ होला…फेरि जाउँजस्तो लाग्छ होला है कहिलेकाहीँ…?’

‘लाग्दैन उहिले त गाउँ थियो…अहिले त बजार भा’छ रे…।’

काठमाडौं आएदेखि उनी लामा गाउँ फर्किएर गएका रहेनछन् ।
हाल उनी बस्ने ठाउँ तलेजु भवानी मन्दिर परिसर २०७२ सालको भूकम्पले भत्किएको अझै मर्मत हुन सकेको छैन ।

मलाई उनीसँग कुरा गरिरहँदा त्यो बेलाको स्मरण भयो ।

‘अनि ७२ सालको भुईंचालो जाने बेला कता हुनुहुन्थ्यो ? मेरो प्रश्नमा…’
‘त्यो बेला पुरानो भन्सारमा मट्टितेल लिन गाको थिएँ, म त…, कस्तो हल्लाको होई…?’

पुरानो भन्सार कता पर्छ मलाई यो नाम नौलो लाग्यो । उनैलाई सोधेँ खिचापोखरीतिरको एरियालाई उहिले पुरानो भन्सार भनिँदो रहेछ ।
उनि मसँग कुरा गर्दे ४, ५ वटा अण्डा अर्को कालो ताप्केमा हालेर उसिन्न बसाल्दै थिए ।

‘चिया, अण्डा अनि अरु के के बेच्नुहुन्छ नि आले दार्ई ? मेरो प्रश्नमा…’

‘अलि–अलि बिस्कुट, चुरोट..ओसिन्छ भनेर ऊ त्यो डिब्बाहरूमा राख्या छ ।’

उनले त्यही ईट्टाहरूको मचानमाथि लस्करै राखेको ध्वाँसोले मैला भएका डिब्बाहरू देखाए । मेरा आँखा उनको दुवै हातहरूमा पुगेर रोकिए, किनकी उनले दुई हातमा ५ वटा घडी बाँधेका थिए ।

‘ओहो हातमा त टन्नैे घडी बाँध्नुभएको रहेछ नि ?’

‘अब कहिले कुन चल्छ कहिले कुन बन्द हुन्छ पत्तो हुन्न, एउटा बन्द भए कुनै न कुनै ले त ट्याम दिन्छ त्यै भएर ५ वटा लाको …’ उनी फेरि अर्को पल्ट मुस्कुराए ।

यो पटक उनीसँग म पनि मज्जाले हाँसेँ । उनीसँग त्यसरी हाँस्दा म मनैदेखि खुशी थिएँ ।

‘तपाईंले फोटो खिच्नु भाको छ कि छैन…पहिले…?’

‘छैन..’ उनको जवाफले म नतमस्तक भएँ ।

‘ल तपाईंको फोटो फेरि खिच्छु ? ल यता हेर्नुस् त…’

आले दार्ईले बिस्तारै मतिर हेरे…, मैले खिच्च खिच्च उनको निर्दोष मुहार आफ्नो फ्रेममा कैद गरेँ ।

‘म तपाईंको फोटोहरू ल्याइदिन्छु ल दार्ई…?’

उनले टाउको हल्लाए । त्यती बेलासम्म मैले चिया पिएर सकिसकेको थिएँ । एक वृद्धलाई जुठो गिलास छोडेर हिँड्न मनले मान्दै मानेन । धोएर उनले राख्ने ठाउँमा घोप्टाइदिएँ ।

‘चियाको कति ?’

‘२० रुपैयाँ…’

चियाको पैसा दिएँ, फोटो लिएर फेरि आउँछु है भनेर म बाटो लागेँ ।

अलि पर पुगेँ, किन किन फर्किएर हेर्न मन लाग्यो, आले दार्ई हातका टिकटिके घडी नाडीमा उँभो सार्दै अर्को चिया पकाउन दाउराको ठूटा भुङ्ग्रोमा राखेर ठूटे ढुङ्ग्रो फुक्दै थिए ।

अलि पर पुगेँ, किन किन फर्किएर हेर्न मन लाग्यो, आले दार्ई हातका टिकटिके घडी नाडीमा उँभो सार्दै अर्को चिया पकाउन दाउराको ठूटा भुङ्ग्रोमा राखेर ठूटे ढुङ्ग्रो फुक्दै थिए ।

#गल्ली गल्लीका कथाहरू

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment