
इजरायली सेनालाई सुरक्षा सामग्रीकाे लागि संयुक्त नेपाली चर्चद्वारा ५० हजार सेकेल सहयाेग
तेल अभिभ । इजरायलको तेलअभिभमा रहेकाे संयुक्त नेपाली चर्चले यहाँ जारी इजरायल-हमास द्वन्द्वमा इजरायली डिफेन्स फोर्स(आइडिएफ) अर्थात इजरायली सेनालाई आवश्यक सुरक्षा सामग्रीको लागि ५० हजार सेकेल (झण्डै नेपाली १७ लाख रूपैयाँ) नगद सहयोग गरेको छ ।
शुक्रबार उत्तरी इजरायलको परदेस हन्ना पुगेर ओरेभ नहाल एशोसिएसन, विशेष युनिट फोर्सका प्रतिनिधिलाई मण्डलीको तर्फबाट पास्टर माया सुनुवार र प्रचारक दुर्गा देवी गुरुङले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
ओरेभ नहालले उक्त सहयेगप्रति मण्डलीलाई विशेष आभार प्रकट गरेको छ ।
“यो सहयोगले हामीलाई कति छोएको छ भन्ने शब्दमा व्यक्त गर्न गाह्रो छ, तपाईंको मद्धत, हामीले थाहा पाएको सबैभन्दा अन्धकार घडीमा उज्यालो ल्याउन हामी सँगै छौं ।”, ओरेभ नहालले भनेको छ ।
इजरायल-हमास युद्ध जारी रहँदा पछिल्ला दिनहरूमा ओरेभ नहालले सिलाई कार्यशाला स्थापना गरी लडाइँमा रहेका सेनाहरूको सुरक्षा सामाग्री बनाउने, सिलाईका सबै सामानको गुणस्तर कायम गर्ने र सैनिकहरूको सुरक्षा र उच्च मनोबलको लागि कडा मेहनत गरिरहेको छ ।
उक्त अभियानमा संयुक्त नेपाली मण्डलीको उदार भावना सहितको आर्थिक सहयोगले ठुलो काम गर्ने र यस महत्त्वपूर्ण प्रयासमा संयुक्त नेपाली मण्डलीलाई साझेदारको रूपमा पाउँदा सम्मानित महसुस गरेको ओरेभ नहालका प्रतिनिधिहरूको भनाई छ ।

दु:खको समयमा अटल समर्थनको लागि आभार प्रकट गर्दै मण्डली परिवारलाई सहयेग रकमबाट हुने कामको प्रगतिको बारेमा बेलाबेलामा जानकारी गराइराख्ने र पुनः परदेस हन्नामा भ्रमणको निम्तो दिने ओरेभ नहाल एशोसिएसनले जनाएको छ।

यता, मण्डलीकी प्रमुख पास्टर माया सुनुवारले यतिबेला मण्डलीको साप्ताहिक सेवा सुरक्षा सतर्कताको कारण बन्द रहे पनि इजरायल देश र हामी सबैको शान्ति सुरक्षाको लागि खटिने सेनाहरूको लागि मण्डलीले मुट्ठी खोल्ने निर्णय गरेसँगै उक्त सहयोग उपलब्ध गराएको बताउनुभएको छ ।
उक्त सहयाेग, याे परिस्थितिमा इजरायलमा नेपाली समुदायकाे तर्फबाट भएकाे अहिलेसम्मकै ठुलाे आर्थिक सहयाेग मानिएकाे छ ।
भिडियाेः