
दक्षिणकालीका डा. वैकुण्ठ अर्याल सरकारकाे मुख्यसचिवमा नियुक्त
काठमाडाैं । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहिबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.अर्याललाई मुख्यसचिवमा बढुवा गरेको हो ।
काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङमा जन्मिनुभएका अर्याल २०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गर्नुभएकाे थियाे । उहाँ २०४९ सालमा शाखा अधिकृत बन्नुभयाे । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गर्नुभएका उहाँले नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएकाे छ ।
यता, मुख्यसचिव शंकरदास बैरागीको मुख्यसचिवको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो ।
नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएका अर्याल मुख्यसचिव बन्नुभएकाे हाे । सचिवका रुपमा पाँच वर्षे कार्यकाल पूरा गरी ३ दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा नियुक्त गरेको हो । हाल मुख्यसचिव रहनुभएका शंकरदास बैरागीको कार्यकाल आगामी असोजसम्म थियो । तर बैरागीलाई मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको सरकारले सचिवकारुपमा अवकाश हुन लाग्नुभएका अर्याललाई थप तीन वर्षका लागि मुख्यसचिवको जिम्मेवारी दिएको हो । अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्थ्याे ।