
वृहत कृषि प्रदर्शनी मेला सम्पन्न
सन्तोष रुचाल, धनकुटा । धनकुटाको डाँडाबजारमा वृहत कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा बृहत कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो ।
साँगुरीगढी गाउँपालिका–५ को आयोजनामा वृहत कृषि मेलाको आयोजना गरिएको हो । निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्नका लागि कृषकलाई प्रेरित गर्न कृषि मेला आयोजना गरिएको वडा नं. ५ का अध्यक्ष खड्ग थेगिम लिम्बूले बताउनुभयो । निर्वाहमूखी र परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तर नउठ्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो ।
उहाँले अबको कृषि क्रान्ति भनेको जबसम्म यान्त्रिकरण गर्न सकिँदैन, तबसम्म कृषि क्षेत्रमा आमूल परिवर्तन पनि नसकिने र किसानहरूलाई आत्मनिर्भर बनाउन पनि नसकिने अध्यक्ष राईले बताउनुभयो । यस्ता खाले कृषि मेलाले गाउँ–गाउँमा खेतिपाती गरेर जीविकोपार्जन गरिरहेका कृषकहरूलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।
उक्त वृहत्त कृषि मेलामा कृषकहरूको उत्पादनलाई विभिन्न विधामा राखेर पुरस्कारको लागि मूल्याङ्कन गरिएको थियो । कृषि उपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रूपमा प्रदर्शनीमा थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मुल्याङ्कन गरी प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई पुरस्कृत गरिएको थियो ।
कृषि मेला प्रदर्शनीमा तरकारी बाली १ सय ५२ प्रजाति, फलफूल ५० प्रजाति, अन्नबाली १९ प्रजाति, मसला बाली २१ प्रजाति र दलहन बाली १६ प्रजातिका बालीहरू राखिएको थियो । गाउँ विकास कार्यक्रमका संयोजक भिमशंकर काफ्लेले कृषि मेला प्रदर्शनीमा वडाभित्रका २ सय ५८ विभिन्न प्रजातिका ५ समुहका बालीहरू कृषकहरुले ल्याएको कृषि उपजका वस्तुहरू राखिएको बताउनुभयो ।
सहभागिता जनाउने कृषिकहरूलाई नगदसहित पुरस्कार
कृषि प्रदर्शनीमा राखिएका उत्कृष्ट कृषि उपजका वस्तुहरू ल्याएर सहभागिता जनाउने कृषिकहरूलाई नगदसहित पुरस्कृत समेत गरिएको थियो । अन्नबालीतर्फ प्रथम सोवितमान देवान, दोश्रो डिल्लिश्वर विश्वकर्मा, तेश्रो दीलकुमारी लिम्बू र सान्तवना सीता घिमिरे भएका छन् ।
त्यस्तै तरकारी बालीतर्फ रामकुमारी राई प्रथम, लालमाया लिम्बू दोश्रो, सीता लिम्बू तेश्रो र नरवीर वि.क.ले सान्तवना पुरस्कार पाउनुभएको छ । मसलाबालीतर्फ विक्रिम लिम्बू प्रथम, रामकुमार याखा दोश्रो, दीपा राई तेश्रो र ताराहाङ लिम्बू सान्त्वना हुनुभएको छ ।
दलहनबालीतर्फ भद्रिका लिम्बूु प्रथम, कविराज लिम्बू दोश्रो, खेमराज लिम्बू तेश्रो र नर्वदा लिम्बू सान्त्वना हुनुभएको छ भने फलफूल बालीतर्फ तारामाया याखा प्रथम, भीमराज लिम्बू दोश्रो, माला याखा तेश्रो र नरमाया लिम्बू हुनुभएको छ । उनीहरूलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको छ ।