
आज साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै
काठमाडौं । आज साँझ मंगलबार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहणले पूरै चन्द्रमा ढाक्ने जनाएको छ । साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिने छ ।
नेपालबाट कुल १ घन्टा २३ मिनेट ग्रहण देखिने बताइएको छ । सामान्यतः ग्रहण लाग्नु नौ घण्टा अघिदेखि नै सुतक लाग्ने भएकाले शास्त्रीय मान्यता पछ्याउनेहरुले आज बिहान ८ बजेर ११ मिनेटपछि भोजन गर्न नहुने जनाइएको छ । तर, वृद्ध वृद्धा, बालबालिका, बिरामी वा अशक्तहरूबाहेक अन्य व्यक्तिले ग्रहणको बेला भोजन गर्नु उचित मानिँदैन ।
सुतक अवधिभर बार्नेहरुले ग्रहण सकिएपछि मात्र भोजन गर्नु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यही कार्त्तिक ८ गते औंसीका दिन खण्डग्रास सूर्यग्रहण लागेको थियो । यसरी यो वर्ष कार्त्तिक महिनाका दुवै पक्षमा ग्रहण परेको छ ।
यसैबीच, काठमाडौंको सामाखुशीस्थित तक्षशीला कलेजले मंगलबारको चन्द्रग्रहण हेर्ने ब्यवस्था गरिएको जनाएको छ ।