
माछापुच्छ्रे अलैँची जोनको अनुगमन
काठमाडाैं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित अलैँची सुपर जोनको अनुगमन गरिएको छ । अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।
खेर गएको जमिनलाई सदुपयोग गर्दै एकचोटिको मेहनतले लामो समय प्रतिफल लिन पाइने भएकाले अलैँची खेतीतर्फ स्थानीयको आकर्षण बढेको बताए । यस क्षेत्रलाई अलैँची गाउँका रुपमा विकास गरी कृषकका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडाहरूमा अलैँची खेती अनुदान कार्यक्रम सञ्चालन गरिएको र यसबाट प्रतिफल पनि राम्रो पाइएको बताए । उनले भने, “माछापुच्छ्रेको कोलेली, धिताल अलैँची जोनको अनुगमनमा कृषकहरू यसखेतीबाट लाभान्वित भएको पायौँ, व्यक्तिगत र समूहमा गरेर अलैंची खेती गर्नुभएको छ ।”
उनले अनुदानबाट सिँचाइमा ८५ प्रतिशत र क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, अलैँची सुकाउने आधुनिक भट्टी निर्माण, यन्त्र उपकरण, नर्सरी, अलैँचीको बेर्ना लगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिए ।
अनुगमनका क्रममा केही कृषकको माग सम्बोधन नभएको गुनासो, बिक्रीका लागि भारतीय बजारको भर पर्नुपरेको, केही ठाउँमा छहारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता, अलैँची बाली कटान त्यसपूर्वका कार्यका लागि स्थानीय कामदारको अभावलगायत समस्याहरू कृषकले सुनाएका थिए । यस कार्यक्रमले कृषकहरूलाई अलैँची खेतीतर्फ आकर्षित गरेको उनको भनाइ छ ।
परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठकाअनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ६, ७, ८ र मादी गाउँपालिका– १, २, ३, ८, १० र ११ त्यसैगरी अन्नपूर्ण गाउँपालिका–१, ३, ४, ७, १० र ११, पोखरा महानगर–१६ र १९ मा अलैँची जोनका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।
कोलेलीमा करिब ७० रोपनी जग्गामा अलैंची खेती गरेका ज्योति अग्र्यानिक कृषि फार्मका सञ्चालक नरेशराज लामिछानेले अहिले यस क्षेत्रका स्थानीय अलैंची खेतीबाट निकै उत्साहित र लाभान्वित भएको बताए । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु हुने, खेर गएको जग्गामा खेती गर्न सकिने र नगदे बाली भएकाले आयआर्जनको राम्रो माध्यम बनेको उनको भनाइ छ ।
माछापुच्छ्रे मर्दी अलैंची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए । उनले अघिल्लो वर्ष प्रतिकेजी रु एक हजार एक सयमा बिक्री गरिएकामा अहिले आठ सयप्रति केजी रहेको र कृषकले उचित मूल्य कुरेर बसेको बताए ।
उनले अलैंचीको अन्तर्राष्ट्रिय बजार भएकाले यसको मूल्य सूची घटबढ भइरहने जानकारी दिए । पौडेलका अनुसार उक्त क्षेत्रमा वार्षिक १५ ÷१६ हजार केजी अलैंची उत्पादन हुने र करिब डेढ करोडको अलैंचीबाट आम्दानी गर्न सकिने साथै बेर्नाबाट पनि थप आम्दानी हुने बताए ।