
मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु
काठमाडौं । मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।
बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
उपचारको लागि उहाँलाई काठमाडौं मोडल अस्पताल लगिएको थियो । र उपचारका क्रममा उहाँको मुत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँ २०६९ मा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत हुनुहुन्थ्यो । सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् ।
सुब्बाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा रहेका छन् ।
सुब्बाले परराष्ट्र सेवाको क्रममा करिब ४ वर्ष इजरायलस्थित नेपाली राजदूतावासमा द्वितीय सचिवको रूपमा काम काम गर्नुभएको थियो ।