
इन्धन आयातको कारणले भारतसँग व्यापार घाटा चुलिँदो
काठमाडाैं । भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा क्रमशः भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, युनाइटेड अरब इमिरेट्स, जोर्डन, बेल्जियम, अस्ट्रेलिया, ओमान, युक्रेन, साउदी अरेयिबा, कतार, मलेसिया, भियतनाम, थाइल्यान्ड, बंगलादेश, दक्षिण कोरिया, फ्रान्स, साउथ अफ्रिका, पाराग्वे, सिंगापुर, ब्राजिल, क्यानाडा, ताइवान, स्विजरल्यान्ड, टुर्किए, अस्ट्रेलिया रहेका छन् ।
व्यापार फाइदा रहेका मुलुकमा क्रमशः डेनमार्क, कम्बोडिया, नर्वे, उरुग्वे, स्विडेन, न्यु क्यालेडोनिया, लाटभिया, मोरिसस, मानाका, आइस्ल्यान्डलगायत छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी र व्यापार घाटाको ८० प्रतिशत भारतसँग मात्र रहेको छ । भारतसँग मात्र ३ महिनामा २ खर्ब १५ अर्ब ८० करोड २० लाख ४० हजारको व्यापार घाटा रहेको छ । भारतबाट २ खर्ब ४४ अर्ब ७७ करोडको सामान आयात गर्दा निर्यात भने २८ अर्ब ९७ करोड २१ लाख १६ हजार रुपैयाँबराबरको भएको छ ।
चीनसँग पनि चालू आवको पहिलो तीन महिनामा ५५ अर्ब ८७ करोड, ९३ लाख २ हजारको व्यापार घाटा रहेको छ । चीनबाट ५६ अर्ब ४ करोडको सामान आयात हुँदा चीनतर्फ १६ करोड ४२ लाख ४३ हजारको मात्र सामान पठाउन सकिएको छ । इन्डोनेसियासँग भने १३ अर्ब ५ करोड ४३ लाख ३० हजारको व्यापार घाटा रहेको छ ।
व्यापार फाइदा भएको मुलुक डेनमार्कबाट २५ करोड ६८ लाख ७५ हजार रुपैयाँबराबरको व्यापार नाफा भएको हो । यसैगरी, कम्बोडियासँग ७ करोड ४९ लाख २५ हजारको र नर्वेसँग ४ करोड ५९ लाख ९३ हजार रुपैयाँको व्यापार फाइदा देखिएको छ ।
सबैभन्दा वढी आयात भएकामा क्रमशः पेट्रोल, डिजेल, मोटरसाइकल, खाना पकाउने ग्यास, भटमासको तेल, स्टिल, मोबाइल रहेका छन् ।
नेपालबाट निर्यात भएकामा पाम तेल, भटमासको तेल, कार्पेट, अलैंची, चिया, जुसलगायत छन् ।
भन्सार विभागका अनुसार सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने भन्सारमा क्रमशः विराटनगर भन्सार, विरगन्ज भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची भन्सार, भैरहवा भन्सा, सुख्खा बन्दरगाह, नेपालगन्ज भन्सार जलेश्वर भन्सार रहेका छन् ।
आजको राजधानी दैनिकबाट