
झापा पुगेका ओलीसँग सेल्फी खिच्दै युवाहरुले भने, केपी बा अब घरमै बस्नुस्
दमक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा कार्यक्रममा आएका बेला बालबालिकाहरूको सेल्फी खिचाउने भिड लाग्नेगरेको छ ।
आफूसँग काम गर्ने जोस र जाँगर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सेल्फि कार्यक्रमपछि भने ‘कसै कसैले ‘केपी बा’ अब घरमै बसेर आराम गर्नुस् भन्दै भनेको र लेखेको देख्छु । यसले मलाई माया गरेकोजस्तो लाग्छ । ‘बा’ अहिले घर गएर बस्ने हैन, ‘बा’ फेरि संसदमा गएर सरकार बनाएर प्रधानमन्त्री भएर देशका भ्रष्टाचारीलाई तह लगाउनु छ ।’
शनिबार बिहान झापाको दमकस्थित कृष्ण मन्दिरमा भएको एक चुनावी कार्यक्रममा उहाँसँग फोटो खिच्नेको भिड लागेको थियो । कार्यक्रम सकेर स्टेजबाट करिब ५० मिटर गाडीमा आउन उनलाई झण्डै आधा घण्टा लाग्यो । सेल्फी खिच्नेको भीड लागेपछि उनलाई उम्किन गाह्रो भएको थियो । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन् रउनको गृह नगर दमक हो ।
एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले आफूसँग फोटो खिचाउन चाहने र भेट्न चाहेका बालबालिकासँग सहज रूपमा समय दिने गरेका छन् । बालबालिकासँग बोल्न र जानकारी लिन ओली स्वयं आफू पनि मरिहत्ते गर्नेगरेको बताइन्छ ।
अभिभावकले आफ्ना बालबालिका ल्याएर ओलीलाई भेटाउन लाइनमा बस्नेगरेको उनले जनाए । उमेर समूहका नागरिक टिकटिक बनाउन, फोटो खिच्न भिड लाग्ने गर्दा निर्धारित कार्यक्रममा समयमा पुग्न र समय व्यवस्थापन गर्न चुनौती हुनेगरेको दाहालले बताए ।
आजको गोरखापत्र दैनिकबाट