
१२ वर्षे जात्रा ‘ङतभुलु अजिमा’ देवीनाच
काठमाडौं । नरदेवीमा १२ वर्षे वर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । सो नाचअन्तर्गत विशेष देवी नाच पर्व मनाउने परम्परा छ ।
बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ। सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ । बाह्र वर्षको जात्रा आफैंमा विशेष छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ । तर, १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ ।
‘ङतभुलु अजिमा’ जात्राको ‘ताभुज’ बाजाका सदस्य राजप्रकाश तुलाधरका अनुसार लोक उद्धारका लागि ‘च स्वा’ फूलबाट नरदेवी निस्किएको भन्ने किम्बदन्ती छ ।
‘देवीलाई समस्त देशका मानिसलाई उद्धार गर्ने देवी भएर नरदेवी भनिएको हो’, उनले भने, ‘त्यो समयमा नरदेवी शक्ति पिठको रुपमा थिए । गुणकामदेवको पालामा काठमाडौं उपत्यका बनाउने क्रममा भित्री भाग जस्तै, (कुला भुलु, असं भुलु)मा त्रिकोण आकारको देवता राख्ने चलन थियो ।
मुख्य शहरअन्तर्गत पर्ने मन्दिर मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ । तर, विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको उनी बताउछन् । जात्रालाई अझै राम्रो बनाउने काम भने रणबहादुर शाहले गरेको अभिलेखमा उल्लेख गरिएको छ ।
आजको गोरखापत्र दैनिकबाट