
सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी
काठमाडाैं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ । थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सन्दीपविरुद्ध अनुसन्धान बाँकी रहेकाले म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ ।
प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।
गएको भदौ २१ गते एक किशोरीले लामिछानेबाट आफू भदौ ५ गते बलात्कृत भएको भन्दै उजुरी दिए पछि असोज २० गते उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।