
बागमती नदी किनार अतिक्रमणको चपेटामा
काठमाडौं । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ । बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन् । कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन् । बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त कहीँ निःशुल्क नै दिएको पाइएको छ । यहाँसम्म कि बागमती नदी किनारमा निर्माण गरिएको पार्क सःशुल्क सञ्चालन गरिएको छ ।
त्यसैगरी विभिन्न शक्ति केन्द्रको पहुँच तथा भनसुनका आधारमा केही वर्षयता बागमती नदीको क्षेत्राधिकारभित्र विभिन्न पार्क, वडा कार्यालय, विभिन्न धार्मिक सम्प्रदायका मठ–मन्दिर, योग केन्द्र, ध्यान केन्द्र, पूजा तथा हवन मण्डप, किरियापुत्री घर, श्राद्ध भवन, प्रहरी कार्यालय, शौचालयलगायतका ठूलाठूला स्थायी संरचना निर्माण भएका छन् । बागमती नदी गुरुयोजनाविपरीत यस्ता संरचना निर्माण हुने क्रम अझै जारी छ ।
बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म स्थायी संरचना नै तीन दर्जनभन्दा बढी
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै लिन्छ भाडा
नदी किनारमै ललितपुर महानगरपालिका वडा नम्बर १ को तीनतल्ले कार्यालय भवन
रुद्रेश्वर महादेव मन्दिरको पुजारी बस्ने भवन र ॐ शान्ति भवन भत्काइएको
त्यति मात्र नभई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)ले बल्खु पुलसँगै बागमती नदी किनारमा डिप ट्युबवेल र ललितपुर ज्वागलस्थित यूएन पार्कभित्र खानेपानी पम्प स्टेसन निर्माण गरी पानी वितरण गर्दै आएको छ ।
नदी किनार क्षेत्रमा निर्माण गरिएका संरचनाबारे अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भने, “नदीको क्षेत्राधिकारभित्र स्थायी संरचना निर्माण गर्न कसैलाई अनुमति दिइएको छैन ।
यदि कथम्कदाचित कसैलाई दिइएको छ भने त्यो खारेज गरिनेछ। दिइएको सहमति समितिले कुनै पनि बेला फिर्ता लिन सक्छ ।” उनले अगाडि भने, “बागमती किनारका अनाधिकृत संरचना हट्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
सानेपास्थित बीपी पार्क र मनमोहन पार्क बनाई त्यसमा ठूला–ठूला पक्की भवनसमेत निर्माण गरिएको भन्ने जिज्ञासामा समितिका अध्यक्ष तिमल्सेनाले भने, “सबभन्दा ठूलो समस्या भनेकै राजनीतिक दलका नेताहरूकै संलग्नतामा सार्वजनिक जग्गा अतिक्रमण गरिएपछिको हो । त्यसका बारेमा हामी अनुसन्धान गर्छौं ।”अध्यक्ष तिमल्सेनाको दाबीविपरीत मनमोहन पार्क निर्माण समितिका अध्यक्ष राजेन्द्र थापामगरले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग लिखित सम्झौता गरेर पार्क तथा भवनलगायतका स्थायी संरचना निर्माण गरिएको बताए ।
बल्खु पुलसँगै बागमती नदी किनारमा रहेको ‘फलोस् फुलोस् नर्सरी’ का सञ्चालक गौतम साहुले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरी वार्षिक भाडा तिरेर नर्सरी सञ्चालन गरिएको बताए । वार्षिक कति भाडा तिर्नुहुन्छ भन्ने जिज्ञासामा भने उनले केही पनि बताउन चाहेनन् । सो नर्सरी छ वर्षदेखि सञ्चालनमा छ । नर्सरीको उत्तरपट्टि शहीदपार्क निर्माण गरिएको छ । पार्कभित्र निर्माण गरिएको पक्की भवनमा डिजिटल विज्ञापन बोर्डसमेत जडान गरिएको छ ।
त्यसैगरी सानेपाको झोलुङ्गे पुलसँगै स्थानीय क्लबद्वारा निर्माण गरिएको भवन भाडामा लगाइएको पाइएको छ । त्यो भवनमा डिप्लोमा इन्जिनियर एसोसिएसन नेपाल (डीन)को कार्यालय रहेको छ भने सँगै सार्वजनिक शौचालय निर्माण गरिएको छ, जुन गोरखापत्रको रिपोर्टिङ टोली जाँदा पूर्ण रूपमा बन्द थियो । त्यसपछि थोरै पूर्व लागेपछि नदी किनारमै ललितपुर महानगरपालिका वडा नम्बर १ को तीनतल्ले कार्यालय भवन निर्माण गरिएको छ । वडा कार्यालयले नदी किनारमै खेल मैदान, गौशाला तथा टहरा निर्माण गरी भाडामा समेत लगाएको छ ।
आजको गोरखापत्र दैनिकबाट