
राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित
काठमाडाैं । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।
बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धनसमेत भत्किन थालेपछि थप जोखिम बढेको राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रसाद पाण्डेले बताए । उनका अनुसार, बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्याएको छ ।