
सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमै सारियो
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमै सारिएकाे छ । अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको उपचारमा संलग्न चिकित्सकले बताउँनुभयाे । ‘ब्लड प्रेसर एकछिनमा ह्वातै घट्छ ।
ब्लडप्रेसर घट्न थालेको राम्रो अवस्था होइन । औषधिले शरीरमा त्यति राम्रो काम गरिरहेको छैन’, चिकित्सकले भन्नुभयाे, ‘स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले अवस्था चिन्ताजनक नै रहेको छ ।’ निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत हुनुहुन्छ ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उहाँलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो । अहिले उहाँलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।
किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।