
सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता भएको दाबी
काठमाडौं । सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउने किशोरी नाबालिग नभएको उनका वकिलले दाबी गर्नुभएकाे छ ।
जिल्ला अदालत काठमाडौं परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता सुधा रिजालले पीडित भनिएकी किशोरी नाबालिग नभएको दाबी गर्नु भएकाे हाे ।
उहाँले भन्नुभयाे,’दुईवटा जन्मदर्ता भेटिएपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएकाे छ ।’ उनी नाबालिग नभएको हुनसक्ने सम्भावना बढेकाे उहाँले बताउनुभयाे ।
आरोपित क्रिकेटर सन्दीप लामिछानेले पनि पीडित भनिएकी किशोरीले आफ्नो वास्तविक उमेर १९ वर्ष बताएकी तर अध्ययनका सम्बन्धमा उमेर घटाएको भनेको भन्दै पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको रहेको दाबी गरेका छन् ।
प्रहरीले पेस गरेको कागजातमा भने किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको देखिएको छ । प्रहरीले अदालतमा पेस गरेको नागरिकताको प्रतिलिपिमा पीडित मानिएकी किशोरी अझै पनि नाबालिग नै रहेको देखिएको छ ।