
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारी स्वतन्त्रबाट उमेदवार
सन्तोष रुचाल, धनकुटा । यही २३ असोजमा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
धनकुटाको सामुदायिक भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर पोलिटब्यूरो सदस्य भण्डारीले पार्टीबाट विद्रोह गर्दै स्वतन्त्रबाट आज उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा सत्तागठबन्धनको तर्फबाट धनकुटा नेपाली कांग्रेसको भागमा परेपछि उहाँले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । पटक–पटक अन्य पार्टीको निर्वाचन चिन्हमा मतदान गर्दै आएको माओवादी केन्द्रले यस पटक पनि रुखमा मतदान गर्नुपर्ने भएपछि पार्टी कार्यकर्ताको भावनालाई मध्यनजर गर्दै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य भण्डारी २०६४ सालको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभातर्फ धनकुटा माओवादी केन्द्रले पाउनुपर्ने माग गर्दै पटक–पटक पार्टी अध्यक्ष प्रचण्डलाई दबाव दिनुभएको थियो । तर पार्टी केन्द्रले सकारात्मक आश्वासन नदिएपछि उहाँले दुईहप्ता अगाडि नै स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।
पार्टी कार्यकर्ताको भावना अनुरूप आफ्नो पार्टीको चुनाव चिन्हमाथि उपेक्षा गरिएकाले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो । साथै निर्वाचनमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।