
लहान दुर्गा मन्दिरमा पचहत्तर तोला सुनका गहना
काठमाडाैं । सिरहाको लहानस्थित दुर्गा माताको मूर्तिलाई ७५ तोला सुनको गरगहना चढाइएको छ । माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताउनुभयो । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला सुनको छ ।
त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का रहेका छन् ।
यी सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट संकलन गरिएको आर्थिक सहयोगबाट निर्माण गरिएको हो । माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेतलाई चाँदीका गरगहनाले सजाइएको हो । देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृंगार तथा हातहतियार पाँच केजी चाँदी प्रयोग भएको हो ।
मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको बताइएको छ ।