
दशैँ अवधिभर काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडाैं । दशैँ बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेंगु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ ।
यसैगरी महानगरले हाल काठमाडौंसहित देशैभरिमा डेंगु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ ।
महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो । यतिमात्र नभई दशैँ बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरुले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।