
प्रदेश १ मा बढ्याे डेंगु संक्रमण, तराईभन्दा पहाडमा बढी
सन्तोष रुचाल, धनकुटा । प्रदेश नम्बर १ मा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ । पूर्वी तराईसँगै पहाडी र हिमाली जिल्लाहरुमा यसको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
प्रदेश नम्बर १ अन्तरगतका १४ जिल्लामा हालसम्म ७ सय ६५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको हाे । डेंगुको संक्रमण तराईका जिल्लाका तुलनामा पहाडी र हिमाली जिल्लामा बढ्दै गएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी सुनसरी जिल्लामा एक सय ७१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सबैभन्दा कम ताप्लेजुङ र इलाममा २ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका मेडिकल ल्याब टेक्निसियन दिलीपकुमार सिंहले बताउँनुभयाे । तर हालसम्म प्रदेश नम्बर १ मा डेंगुको संक्रमणका कारण कसैको पनि मृत्यू भने भएको छैन ।
हालसम्म डेंगुको संक्रमण प्रदेश नम्बर १ को सुनसरीमा एक सय ७१ जना, मोरङमा ७३ जना, झापामा ८७ जना, उदयपुरमा ५१ जना र इलाममा २ जनामा संक्रमण देखिएको छ भने पहाडी जिल्ला तेह्रथुममा सबैभन्दा बढी एक सय ४१ जनामा देखिएको छ ।
त्यस्तै संखुवासभामा एक सय २५ जना, धनकुटामा २९ जना, ओखलढुंगामा २३ जना, पाँचथर र भोजपुरमा १२÷१२ जना र ताप्लेजुङमा २ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटा मेडिकल ल्याब टेक्निसियन बताउँनुभयाे ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको संक्रमण धनकुटामा बढ्दै गएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । ज्वरो आउने, थकित हुने, जिउ दुख्ने, कमजोर महसुस हुने, अत्याधिक टाउको र आँखा दुख्ने, वाकवाकी लाग्नु डेंगु संक्रमणका लक्षण हुन् । यस प्रकारका रोगीहरुको संख्यामा बृद्धि हुदै गएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
पछिल्लो समयमा डेंगु संक्रमण बढ्दै गएपछि अहिले धनकुटा अस्पतालमा डेंगु संक्रमित आउने क्रम बढेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेन्डेड डाक्टर मनिष शाहले बताउँनुभयाे । अहिलेसम्म धनकुटामा मात्र २९ जनामा डेंगु संक्रमणको पोजेटिभ देखिएको छ ।