
पोलिटब्यूरो सदस्य भण्डारीसहित माओवादी नेताहरुले दिए सामुहिक राजीनामा
सन्तोष रुचाल, धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारी सहित धनकुटामा क्रियासिल माओवादीका नेताहरुले पदबाट सामुहिक राजीनामा दिएका छन् ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य भण्डारी, प्रदेश कमिटी सह–सचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राई सहितका नेताहरुले पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् । नेताहरुले सामुहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । जिल्लास्थित पोलिटब्यूरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजक सहित जिल्ला समन्वय समितिका सबैले पदबाट राजीनामा दिएको जिल्ला संयोजक राईले बताउनुभयाे । जिल्लामा क्रियाशिल करिब १५० जना नेताहरुले सामुहिक राजीनामा दिएको बताइएको छ । पोलिटब्यूरो सदस्य भण्डारीलाई माओवादी केन्द्र धनकुटाले प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट उम्मेद्वार सिफारिस गरेको थियो ।
धनकुटा इन्चार्ज समेत रहेका भण्डारी आफुलाई पार्टीको हसिया हतौडा चिन्हमा उम्मेद्वार बन्न दिन आग्रह गर्दै पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुग्नुभएकाे थियाे । तर प्रचण्डबाट सकारात्मक प्रतिक्रिया नआएपछि आफुले १५ दिन अगाडी नै अध्यक्षलाई राजीनामा बुझाएको भण्डारीले बताउनुभयाे । भण्डारी सहितका नेताहरुको उपस्थितिमा शनिवार जिल्ला समन्वय समितिको बैठक बसेको थियो । बैठकले सामुहिक राजीनामा दिएर भण्डारीलाई स्वतन्त्र रुपमा उम्मेद्वार बनाएर अघि बढ्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले राजीनामा दिएर पार्टीको बन्धन तोडेकाले अब जनताको हितका लागि स्वतन्त्र उम्मेद्वार बन्ने घोषणा गर्नुभयाे ।
अब प्रचण्ड सकारात्मक भएर हसिया हतौडा चिन्हमा उम्मेद्वार बन्न प्रस्ताव गरे भनेपनि आफु त्यसका लागि तयार नहुने उनको बताए । पार्टीहरु स्वार्थ केन्द्रित भएर पदका लागि गठबन्धन गरेर पार्टीको अस्तित्व समाप्त पार्न तल्लिन हुनु गलत भएको उहाँले दाबी गर्नुभयाे ।
पार्टीको सामुहिक राजीनामाको विषयमा धनकुटा नगर अध्यक्ष हेमचन्द्र किराँतीले भन्नुभयाे–‘हामी सातै पालिकाका अध्यक्ष, सचिव सहितको जिल्ला समन्वय समितिको संयुक्त बैठकले सामुहिक राजीनामा दिने निर्णय गरेको बताए ।’ यता प्रदेश कमिटी सदस्य तिलक प्रसाद राईले पनि पार्टी निर्णय अनुसार नै सामुहिक राजीनामा गरिएको बताउनुभयाे । पार्टीले जहिले पनि हसियाँ हतौडालाई उपेक्षा गर्यो । त्यसैले गठबन्धनमा काग्रेसलाई सहयोग गर्न नसकिने निष्कर्ष सहित पार्टीबाट सामुहिक राजीनामा गरिएको बताउनुभयाे ।