
दसैँ र तिहारलाई लक्षित गर्दे सुपथ मूल्य पसलबाट चामल बिक्री
काठमाडाैं । हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दे बिहीवारसम्म चार सय ४२ क्वीन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।
दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिनुभयो । उक्त पसलबाट हरेक चामलको मूल्यमा प्रति केजीमा रु सात छुटमा बिक्री भइरहेको छ । कार्यालय प्रमुख भामकाअनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ ।
सुपथ मूल्य पसलबाट मुगुका छायाँनाथ रारा नगरपालिका र जिल्लाकै पूर्वी भेगको गाउँपालिकाकाका स्थानीयबासीलाई लक्षित गरिएको छ ।
मुगुका स्थानीयले सरकारलाई मुगु जिल्लाको डिपो केन्द्रमा खाद्यान्न कहिले आउँछ भन्दै प्रश्न गरेका छन् ।
विगतबाट यस क्षेत्रका मुगु जिल्ला हेपिँदै आएको, हाल पनि समस्या उस्तै रहेको र तत्काल सुधार गर्नुपर्ने भन्दै गुनासो गरेका हुन् ।