
टुकुचामाथि निरन्तर डोजर: पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरुले धमाधम घर खाली गर्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हल, त्यससँगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् ।
टुकुचालाई खुला रुपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिनअघि जय नेपालबाट टुकुचा क्षेत्र खाली गर्न थालिएको हो । त्यस क्रममा हिजो शनिबार लक्ष्मी बैंकको छेउको रुख काटेको थियो । त्यसलगत्तै बेसमेन्टमा प्वाल पारेर ढाकिएको टुकुचा खाली गर्न सुरू गरेको हो ।
कामपालाई सबैभन्दा ठूलो तनाव लक्ष्मी बैंकको मुख्यालय भत्काउनु रहेको छ । कामपा शहरी विकास विभाग प्रमुख सुरज शाक्यले भन्नुभयाे– ‘हामीले दिएको सूचना पालना नगरेपछि एक्सनमा गएका हौं ।’ कामपाले टुकुचा हडपेको विषयमा ड्रोनबाट तस्वीर खिचेर पत्ता लगाएको थियो ।
कामपाका अनुसार सो क्षेत्रमा ३३ वटा नक्सा पास नगरी बनाइएका घर रहेका छन् । ‘पहिलो चरणमा काठमाडौं मलसम्मको क्षेत्र खाली गर्नेछौं, त्यसपछि दायाँबायाँका संरचना हटाउनेछौं । यो काम गर्न महानगरलाई अझै एक महिना लाग्न सक्छ ।
नारायणहिटी दरबार परिसरबाट बाहिर निस्केदेखि नै टुकुचा छोपिएको छ । छोपिएको भाग खोतलेर पूर्ण रुपमा टुकुचालाई सौन्दर्यीकरण गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । मेसिन लगाए चाँडै खाली हुनेछ भने मान्छेले काम गरे धेरै समय लाग्नेछ’ –काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयाे ।
महानगरले पहिलो चरणमा करिब ७ अर्ब रुपियाँ खर्चेर टुकुचा खोला खाली गर्नेछ । ४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने विषयमा कामपाले ड्रोन र स्थानीयको सहयोग लिएको थियो ।
महानगरले स्रोतबाटै टुकुचा सफा र खुला गर्ने तयारी गरिरहेको छ । शहरी विकास विभागका निर्देशक शाक्यले पहिलो चरणको काम सकेलगत्तै दोस्रो चरणको काम सुरू गरिने जानकारी दिनुभयाे । कामपाले पहिलो दिन मध्यरातसम्म काम गरेको थियो । जय नेपालको पर्खाल भत्काएर चुकुचा बगिरहेको क्षेत्र पहिचान गरेपछि महानगरले सबै क्षेत्रमा भत्काउन सुरू गरेको हो ।
टुकुचाको पहिलो स्रोत शंखपार्क र बाँसबारी क्षेत्र हो । त्यहाँबाट सुरू भएको टुकुचा भाटभटेनीको टुँडालदेवी मन्दिरनिर पुग्छ । त्यसपछि नारायणहिटी, नील सरस्वती मन्दिर, तीनधारा मार्ग, बागबजार, प्रदर्शनीमार्ग, सैनिक हेडक्वार्टर, थापाथली, त्रिपुरेश्वर हुँदै कालमोचन घाटमा पुगेर वागमतीमा मिसिन्छ । महानगरले महत्वाकांक्षी योजनालाई सफल बनाएर अन्य खोलाको अतिक्रमित जग्गा सरकारी नाममा दर्ज गराउनेछ ।
आजको नेपाल समाचारपत्रबाट