
मेयर बालेनको डोजर चल्दा गाली भन्दा ताली बढी
काठमाडौं । डोजर पछिपछि अघिअघि हुनुहुन्थियाे, कालो चस्मावाला मेयर बालेन साह । उहाँको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो ।
यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयंम ‘ फिल्ड’मा खटिनु भएकाे थियाे ।
काठमाडौं मल अगाडि डोजर चलेको दोस्रो दिन गत ९ भदौमा नयाँ बानेश्वरस्थित अल्फाबिटा अगाडि पनि यस्तै दृश्य देखियो । सुरूमा मेयर बालेनसहितको टोली त्यहाँ निरीक्षणमा पुग्यो । विवादको केही छिनपछि नक्सासहित मेयर बालेन अघिअघि पुग्नुभयाे भने पछिपछि डोजर । ढिलै नगरी डोजर नक्साविपरीतका संरचना भत्काउन थाल्नुभयाे । यी केही उदाहरण मात्र हुन् ।
महानगरपालिकाले एक महिनायता सयभन्दा बढी ठाउँमा अनधिकृत संरचना हटाउन डोजर चलाइसक्यो । महानगर प्रमुख (मेयर)मा बालेनको उदयपछि ‘अनधिकृत संरचना हटाउने’ अभियान नै चलेको छ ।
यो अभियान जारी रहने जनाउँदै महानगरले ‘जे प्रयोजनका लागि नक्सा पास भएको हो, त्यसअनुसार हुनुपर्ने’मा सचेत गराउँदै आएको छ । सुरूमा अनधिकृत संरचना हटाउन बालेन आफैं फिल्डमा खटिनुभयाे । उहाँको निर्देशनअनुसार पछिल्लो दिन महानगर टोलीले ‘अनधिकृत संरचना हटाउने अभियान’लाई निरन्तरता दिएको छ ।
अब त यो अभियानलाई ‘बालेनको डोजर’को संज्ञा नै दिन थालिएको छ । गत २३ साउनमा ‘नियम सबैलाई लागू हुन्छ, नक्सा पासबिना बनाइएको संरचना हटाइन्छ’ भन्दै बालेन थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुग्नु भएकाे थियाे ।
कर्मचारीसहित पुग्नुभएकाे उहाँ नर्भिक अस्पतालका केही भूभागमा ‘नियमविपरीत निर्माण भएका घर र टहरा हटाउने’दयगत’ लिखित सूचना टाँसेर फर्किनु भयाे । दोस्रो दिन संरचना हटाउन पुग्नुभएकाे उहाँले म्याद दिएर फर्किनु भएकाे थियाे ।
पछि, सर्वोच्चले ‘सो संरचना नहटाउन अल्पकालीन आदेश’ दियो । एकपछि अर्को ‘एक्सन’ मेयर बालेनले महानगरभित्रका ठूला भवनको अवैध संरचना हटाउने कार्यलाई पहिलो प्राथमिकता दिनुभएकाे छ ।
महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभाग भवनको बेसमेन्ट खाली गराइसकेको छ । ‘पार्किङका लागि’ भनेर नक्सा पास गरेकामा अन्य प्रयोजनका लागि प्रयोग भएको पाइएपछि बेसमेन्ट खाली गराइएको हो । नयाँ बानेश्वर क्षेत्रका भवन अवलोकन गरी अवैध रूपमा बनाइएका संरचना र अवैध रूपमा ‘अन्डर ग्राउन्ड’मा व्यवसाय सञ्चालन गरिएका घरमा महानगरले एक्सन लिइसकेको छ । गत २ साउनमा काठमाडौं महानगरले नयाँ बानेश्वरका ठूलाठूला भवनका ‘अन्डर ग्राउन्ड’ पार्किङ खाली गर्न निर्देशन दिएको थियो ।
पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना महानगरले व्यापारी र घरधनीलाई दिएको थियो । तर, ३५ दिन कट्दा पनि घरघनीहरूले बेवास्ता गरेपछि मेयर बालेन आफैं बानेश्वर पुग्नुभएकाे थियाे । मेयर साहले कानुन सबैलाई बराबरी लाग्ने भन्दै काठमाडौं जिल्ला अदालतलाई पनि समय दिएको बताउँनुभएकाे छ ।
आजको राजधानी दैनिकबाट