
बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन
काठमाडौं । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधन भएको छ । द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको हाे । उहाँकाे बिहीबार बिहानैबाट स्वास्थ्य स्थितिमा समस्या आएपछि बालमोरल दरबारमा उपचार भइरहेको थियो ।
चिकित्सकको सुपरीवेक्षणको उपचारकै क्रममा स्कटल्यान्ड बालमोरल दरबारमा उहाँकाे बिहीबार निधन भएको हो । २१ अप्रिल १९२६ मा मेफेयर लन्डनमा जन्मिएका महारानी एलिजावेथ द्वितीयको निधनसँगै जेठा छोरा राजकुमार चाल्र्स राजा हुनुभएकाे छ ।
पछिल्लो समय स्कटल्यान्डको बालमोरल दरबारमा बस्दै आउनु भएकि महारानीको चाहनाअनुसार दरबारमै चिकित्सकले उहाँकाे उपचार गरिरहेका थिए ।
उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन् । उहाँ सन् १९५२ मा महारानी बन्नुभएकाे थियाे । रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन् ।
उहाँका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो । फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बन्नु भएकाे थियाे । राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो ।
उहाँकाे सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए । तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गर्नुभएकाे थियाे । उहाँले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गर्नुभयाे ।
एलिजावेथ त्यो समय बेलायतकी महारानी बन्नुभएकाे थियाे, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो । भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो ।
संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए । महारानीका रूपमा एलिजावेथले ती सबै चुनौती डटेर सामना गर्नुभयाे ।
उहाँले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयाे र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राख्नुभयाे । उहाँको जन्म सन् १९२६ अप्रिल २१ का दिन बर्कलेमा भएको थियो ।