
डेंगुका बिरामीले भरिँदै दार्चुला अस्पताल
काठमाडौं । भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । डेंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् ।
जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेंगुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेंगु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेंगु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेंगुको लक्षण देखिएको छ ।
डेंगुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताउनुभयो । “अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “अहिले डेंगुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ ।”
एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्येमा डेंगु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा लिम्बू बताउनुहुन्छ ।
कैदीको उपचारमा समस्या
जिल्ला कारागारका कैदीबन्दीमा डेंगु भेटिएको छ । ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेंगु भेटिएको हो । अहिलेसम्म कारागारका सात जनामा डेंगु भेटिएको जिल्ला अस्पतालले जनाएको छ ।
कारागारमा डेंगुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताउनुभयो । जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ । कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्रचार गरिएको उहाँले बताउनुभयो । अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन् । उहाँले भन्नुभयो, “कारागारभित्र डेंगु नियन्त्रणका लागि प्रयास भइरहेको छ ।