
जिल्ला अस्पताल धनकुटा विशेषज्ञ चिकित्सकविहिन
सन्तोष रुचाल, धनकुटा । जिल्ला अस्पताल धनकुटामा दरबन्दीअनुसारको डाक्टर नभएपछि छात्रावृत्ति कोटामा आएका करार डाक्टरको भरमा सेवा सञ्चालन हँुदै आएको छ ।
जिल्ला अस्पताल धनकुटामा एकजना विशेषज्ञ डाक्टर र दुई मेडिकल अधिकृतसहित तीन जनाको दरबन्दी रहेको छ । तर अहिले एकजना पनि कार्यरत रहेका छैनन् । तीनै वटा पद रिक्त रहेको छ । मुलुक संघीय संरचनामा गएसँगै प्रदेश सरकारले विशेषज्ञ डाक्टर जिल्ला अस्पतालमा पठाउनुपर्ने थियो । तर अहिले प्रदेशमा नै एकजना पनि विशेषज्ञ डाक्टर छैनन् ।
त्यसैले करिब ५ वर्षदेखि जिल्ला अस्पताल धनकुटा विशेषज्ञ डाक्टरविहिन रहेको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजनप्रसाद पोखरेलले बताउनुभयो । त्यस्तै अस्पतालमा मेडिकल अधिकृतहरूको दरबन्दी पनि खालि रहेको छ । सो अस्पतालमा दरबन्दी रहेका मेडिकल अधिकृतहरू अध्ययन विदामा बसेपछि दुवै पद रिक्त रहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
जिल्ला अस्पताल धनकुटाका मेडिकल अधिकृत डाक्टर अमिताभ ठाकुर साढे दुईवर्ष अगाडि अध्ययन विदामा जानुभएको छ भने अर्का मेडिकल अधिकृत डाक्टर पूजन विश्वकर्मा पनि ५ महिना अगाडि एमडी अध्ययनको लागि काठमाडौं जानुभएको छ । त्यसकाकारण मेडिकल अधिकृतको दुवै दरबन्दी रिक्त रहेको छ ।
करारमा आएका ३ जना मेडिकल अधिकृत र २ जना डेण्टल सर्जन
अहिले सरकारी कोटाबाट एमबीबीएस अध्ययन गरी करारमा आएका ३ जना मेडिकल अधिकृत र २ जना डेण्टल सर्जन अस्पतालमा कार्यरत रहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो । विशेषज्ञ डाक्टरको खालि रहेको दरबन्दी कहिले पूरा हुने भन्ने अन्यौलता रहेको छ । यता एमबीबीएस डाक्टरको दरबन्दी रहेका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अहिले डाक्टर छैनन् ।
प्राथमिक स्वास्थ्य केन्द्र जितपुरमा कार्यरत डाक्टरको करार अवधि गत असारसम्म भए पनि स्थानीय तहले म्याद थप नगरेका कारण रिक्त रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख प्रमोद दाहालले बताउनुभयो । यता प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा भने करिब ४÷५ वर्षदेखि नै डाक्टरको दरबन्दी रिक्त रहेको छ । अहिले त्यहाँ सिअहेवद्वारा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हँुदै आएको छ । १५ शैयाको जिल्ला अस्पताल धनकुटामा अहिले ४० शैया बेड सञ्चालनमा रहेको छ ।