
सामुदायिक विद्यालयहरू तीन दिनको लागि बन्द
सन्तोष रुचाल, धनकुटा । धनकुटाको चौबीसे गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयहरू तीन दिनको लागि बन्द गरिएको छ ।
सामुदायिक विद्यालयहरूमा कार्यरत विद्यालय कर्मचारीहरूको पेशागत आन्दोलनको समर्थन गर्दै भदौं १२ गतेदेखि १४ गतेसम्म गाउँपालिका अन्तरगका सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन चौबीसे गाउँपालिकाका अध्यक्ष युवराज कटुवालले बताउनुभयो ।
न्यून तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरूलाई चालु आर्थिक वर्षको बजेटमा कुनै सम्बोधन नगरिएकाले उनीहरूको माग जायज भएको उल्लेख गर्दै चौबीसे गाउँपालिकामा क्रियाशील सम्पूर्ण शिक्षकहरूको तर्फबाट कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, राष्ट्रिय शिक्षक समाज नेपाल लगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालय कर्मचारीहरूले राखेको जायज मागलाई समर्थन गर्दै सम्बन्धित निकायले उनीहरूको माग तत्काल सम्बोधन गर्न आग्रह समेत गरेका छन् । कर्मचारीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तीन दिनसम्म सम्पूर्ण विद्यालयहरूको पठन पाठन बन्द गरेर सहयोग गरिदिनुहुन उनीहरूले आग्रह गरेका छन् ।
चौबीसे गाउँपालिकामा क्रियाशिल शिक्षक संगठनहरूले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेपछि सोहीअनुसार विद्यालयको पठन पाठन बन्द गरिएको बुधुक माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलविक्रम सुब्बाले बताउनुभयो । अठारसय माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धबीर चेम्जोङले पनि विद्यालय कर्मचारीहरूको आन्दोलनमा समर्थन गर्दै शिक्षक संगठनहरूले विद्यालय बन्द गर्न आग्रह गरेपछि तीन दिनको लागि विद्यालयका पठन पाठन बन्द गरिएको स्वीकार गर्नुभयो ।
चौबिसे गाउँपालिका अन्तरगत माध्यमिक र आधारभूत विद्यालय गरी ४४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । सबै विद्यालयहरू बन्द हुदाँ विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ । सामुदायिक विद्यालयका कर्मचारीहरूको माग तीन दिनभित्र पनि पूरा नभएमा थप आन्दोलनलाई अगाडि बढाईने सामुदायिक विद्यालय कर्मचारी संघर्ष समिति चौबीसेका संयोजक जितेन्द्र कोइरालाले बताउनुभयो ।
