
धनकुटाबाट एमालेलाई हराएर छोड्ने: रकम चेम्जोङ
सन्तोष रुचाल, धनकुटा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश नं. १ ईञ्चार्ज रकम चेम्जोङले गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्ने बताउनुभएको छ ।
प्रेस मञ्च नेपाल धनकुटाले आइतबार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका जसपा नेता चेम्जोङले संघीय संसदको उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दावी रहेको समेत बताउनुभयो । ‘पाँच दलीय गठबन्धनले धनकुटाको हकमा सर्वसम्मत निर्णय गर्छ’–उहाँले भन्नुभयो ।
सत्तारुढ गठबन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य समेत रहेका नेता चेम्जोङले तोकिएको समयभित्र कार्यदलले सीट बाँडफाँडको काम टुंगोमा पुर्याउने उनले बताउनुभयो । ‘कार्यदलको म्याद भदौ १५ गते सम्मको लागि हो । यदि टुंगोमा पुगेन भने बढीमा पाँच दिन समय थपिन सक्छ–चेम्जोङले भन्नुभयो ।’ कार्यदलको छलफल सकारात्मक रूपले अघि बढेकोले तोकिएको समयभित्र टुंगोमा आफु विश्वस्त रहेको पनि आंैल्याउनुभयो ।
२०७४ सालको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम र गत वैशाख २० गतेको स्थानीय तह निर्वाचनको मतपरिणामलाई बाँडफाँडको मापदण्डमा राखिएको बताउनुभयो । धनकुटामा प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् ।
प्रतिनिधिसभातर्फ जसपाले टिकट पाउनेमा आफू ढुक्क रहेको बताउँदै जसपा नेता चेम्जोङले प्रदेशसभातर्फ गठबन्धनका अन्य दलहरूले टिकट पाउने स्पष्ट पार्नुभयो । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट विजयी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै धनकुटाबाट एमालेलाई हराएर छोड्ने ठोकुवा गर्नुभयो ।