
चुनाव नजिकिँदै गर्दा धनकुटामा थपिए मतदाता
सन्तोष रुचाल, धनकुटा । धनकुटामा २ हजार ८ सय भन्दाबढी मतदाता थपिएका छन् । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि २ हजार ८ सय २६ जना मतदाता थपिएका हुन् ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धनकुटामा एक लाख १५ हजार ९ सय ६४ जना मतदाता थिए । अहिले थपिएर एक लाख १८ हजार ७ सय ९० जना पुगेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताउनुभयो । धनकुटामा प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । मतदाता थपिएसँगै अब प्रदेशसभा (क) मा ३० हजार ९ सय ८२ जना पुरुष र ३१ हजार ४ सय ९० जना महिला गरी ६२ हजार ४ सय ७१ जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
त्यस्तै प्रदेशसभा (ख) मा पुरुष २८ हजार २ सय ४७ जना र महिला २८ हजार ४५ जना गरी ५६ हजार ३ सय १९ जना मतदाता पुगेको कार्यालयले जनाएको छ । प्रदेश अन्तरगत (ख) भन्दा (क) मा ६ हजार भन्दा बढी मतदाता रहेका छन् ।
धनकुटामा प्रतिनिधिसभा अन्तरगत एकमात्र निर्वाचन क्षेत्र भएकाले जिल्लाभरिका सबैले प्रतिनिधिसभाका उम्मेदवारलाई मतदान गर्न पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नको लागि नेपाल सरकारले घोषणा गरी सकेको छ ।