
कोरियामा थप एक लाख ३८ हजार कोरोना संक्रमित
काठमाडाैं । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार आठ सय १२ जना संक्रमित भएका छन् । दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ संक्रमित हुने गरेका छन् । योसँगै अहिलेसम्म कुल संक्रमितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ ।
स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक संक्रमितको सङ्ख्या एक लाख २६ हजार नौ सय २६ रहेको थियो । बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै संक्रमित भएको देखिएको थियो ।
अहिले संक्रमित अवस्थामै रहेका मध्ये चार सय ९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २२ बढी हो । पछिल्लो एक दिनमा कोरोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या कोरियामा २५ हजार ८९६ पुगेको छ ।