
भारतमा एकैदिन थपिए आठ हजार आठ सय तेह्र कोरोना संक्रमित
काठमाडौं । भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस संक्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडी १४ हजार नौ सय १७ संक्रमित भएका थिए ।
कोरोना सुरू भएबाट हालसम्म पाँच लाख २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ३८ हजार आठ सय ४४ जना कोरोनामुक्त भएका छन् ।
दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ ।
नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरू भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।