
दिनदिनै बढ्यो कोरोना, २४ घण्टामा थपिए ९३४ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ४९८ र एन्टिजेन परीक्षणबाट ४३६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा पुन कोरोना संक्रमण बढेको छ । आइतबार ५५३ जनामा मात्र संक्रमण बढेकोमा सोमबार झण्डै दोब्बर संक्रमित भेटिएका हुन् ।
२४ घण्टामा २८६२ पीसीआर र २४८९ एन्टिजेन गरी ५३५१ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । ४७० जना कोरोनामुक्त भएका छन् ।
२४ घण्टामा कोरोनाबाट एक जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या ५६८६ पुगेको छ ।