
भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण
काठमाडाैं । भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो ।
मङ्गलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण देखिएको हो । यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ ।