
राइड शेयरिङ नियमन गर्न कार्यविधि ल्याउँदै बागमती प्रदेश
काठमाडौं । राइड शेयरिङ सेवालाई नियमन गर्न बागमती प्रदेशले कार्यविधि ल्याउने भएकाे छ । यसका लागि प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ‘राइड शेयरिङ सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ ल्याउने निर्णय गरेकाे छ ।
कार्यविधि बनाउन केही दिनअगाडि मात्र कार्यविधि मस्यौदा समिति गठन गरेको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताए । समितिले कार्यविधि निर्माणका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार गर्ने उनको भनाइ छ ।
‘बागमती प्रदेशमा राइड शेयरिङ सेवाको अभ्यास बढेको छ । यसलाई लिएर कानून पनि प्रष्ट नभएको र यसलाई नियमन गरिनुपर्ने आवश्यकता भएका कारण यस सम्बन्धी कार्यविधि नै तयार गरेर अगाडि बढ्ने योजना बनाएका हौं,’ उनले टेकपानासँग भने ।
उनका अनुसार गठित समितिले अन्य देशहरूमा भएका राइड शेयरिङ अभ्यासको अध्ययन, नेपालको विद्यमान अवस्था लगायतको अध्ययन गरिनेछ ।
समितिले राइड शेयरिङ सञ्चालनको प्रक्रिया, सरकारको भूमिका, दर्ता तथा कर दायरा लगायत नियमनका विषयलाई समेटेर प्रतिवेदन तयार गरी मन्त्रलायमा पेश गर्ने पोखरेलको बताए ।
‘निजी नम्बरको प्लेट भएको सवारीबाट सञ्चालित यो सार्वजनिक सेवालाई नियमन र व्यवस्थित गर्नको लागि हामीले कार्यविधि ल्याउन लागेका हौं,’ उनले भने ।
प्रतिवेदन पेश गर्नका लागि कुनै समय नतोकेको भएपनि छिट्टै नै यो प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गरिने पोखरेलको भनाइ छ ।
समितिमा मन्त्रालयका प्रतिनिधिसँगै बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुना र यातायात व्यवस्था कार्यालय, हेटौंडाका प्रतिनिधलगायत छन् ।
टेकपानाबाट