
सालिककाे विराेधपछि यम बुद्धको नाममा पार्क बन्ने, महानगरले छुट्यायो डेढ करोड
काठमाडाैं । काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । मेयर बालेन्द्र शाहले पहिले सालिक बनाउने घाेषणा गरेपनि जनस्तरबाट विरोध भएपछि महानगर पार्क बनाउने निर्णयमा पुगेकाे हाे । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरले यसअघि र्यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो । महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘त्यहाँ सार्वजनिक जग्गा छ, महानगरभित्रको सार्वजनिक जग्गा संरक्षणको दायित्व महानगरको हो, त्यसैमा पार्क बन्नेछ’ ।
तर, पार्कमा यम बुद्धको सालिक भने नरहने उहाँले बताउनुभयाे । ‘पहिले सालिक बनाउने भनिएको हो, जनस्तरबाट विरोध भएपछि पार्क बनाउने निर्णय लिएका छौँ,’ अध्यक्ष मानन्धरले भन्नुभयाे, ‘भोलि यो निर्णयको पनि विरोध भएछ, त्यहाँका जनताले मानेनन् भने फेरि सच्याउँला ।’
यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गर्नुभएकाे थियाे । तर, स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन मिल्ने कानुनी व्यवस्था नै नरहेको भन्दै आलोचना भएको थियो ।