
थप ४५६ मा कोरोना संक्रमण पुष्टि
काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा ४५६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार १६८ जनाले पिसिआर र एक हजार ६७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ८० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ३०८ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा तीन लाख ८६ हजार ७८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ८४१ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियू २२ जना संक्रमित रहेका छन् ।
हाल देशभरमा ५०० भन्दाबढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र २०० भन्दाबढी सङ्क्रमित रहेको ललितपुर रहेको छ । सून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।