
थप सुविधासहित टेलिकमको समर अफर सार्वजनिक
काठमाडाैं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ ।
कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरू उपलब्ध गराइ रहेकोमा हाल केही नयाँ अफर थप गरेको हो ।
नयाँ अफरको रूपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराएको कम्पनीले बताएको छ ।
२० मिनेट भ्वाइस प्याक १५ रुपैयाँमा उपलब्ध हुन्छ र एक दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि ४९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी, नयाँ अफरको रूपमा १ एमबिपिएस स्पिडको अनलिमिटेड डेटा एक दिन (२४ घण्टा) को लागि ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस एक दिनको लागि १५ रुपैयाँ, २०० एसएमएस तीन दिनको लागि २९ रुपैयाँ र ३०० एसएमएस २८ दिनको लागि ९८ रुपैयाँमा पठाउन सकिने छ ।
कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सियुजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सियुजी अफर अन्तर्गत उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डेटा भोल्युम उपलब्ध गराइएको छ ।
सियुजी १००० मा १० जिबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जिबी प्रदान गरिएको छ । त्यस्तै, सियुजी १५०० मा २० जिबी डेटा प्रदान गर्दै आएकोमा अब ८० जिबी प्रदान गरिएको छ । त्यसैगरी, सबै नेटवर्कमा कल गर्न, डेटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।
पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डेटा र भ्वाइसमा थप मिनेटसहित उपलब्ध गराएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको समेत कम्पनीले जनाएको छ ।