
“हिजोको ठमेल, आजको ठमेल”

मेरो ठमेल,
हिजो,
भोजपुरे खुकुरी,
हातले बुनेका कार्पेट,
नेपाली पश्मिना आदिले
विश्वमै प्रख्यात थियो,
अरबपति उत्पादन गर्थ्यो !
आज
त्यो छैन !
………..
हिजो,
आठ सय दामको खुकुरीलाई
दोस्रो विश्व युद्धको टाँचा लगाएपछि
आठ सय डलरमा बिक्री हुन्थ्यो,
खुकुरीले करोडपति उत्पादन गर्थ्यो,
आज
त्यो छैन,
घर खेत बिक्री भएको छ,
खुकुरी दाइ आज सडक छाप भएको छ
त्यही खुकुरी थुपारेकोले !
………..
हिजो,
दश हजार दामको कार्पेटलाई
तिब्बती शरणार्थीले बुनेको टाँचा लगाएपछि
एक हजार डलरमा बिक्री हुन्थ्यो,
कार्पेटले अर्बपति उत्पादन गर्थ्यो,
आज
त्यो छैन,
सबै जेथा बिक्री भएको छ,
कार्पेट साहुजी आज सडक छाप भएको छ,
त्यही कार्पेट थुपारेकोले !
………….
हिजो,
चार हजार दामको पश्मिनालाई
हिमाली कलिला भेडाको घाँटीको रौंले बुनेको टाँचा लगाएपछि
चार सय डलरमा बिक्री हुन्थ्यो,
नेपाली पश्मिनाले अर्बपति उत्पादन गर्थ्यो,
आज
त्यो छैन,
सबै सम्पत्ति बिक्री भएको छ,
पश्मिना उद्योगी आज सडक छाप भएको छ
त्यही पश्मिना थुपारेकोले !
……………
यथार्थमा,
कोरोना महामारीले
मेरो ठमेल,
मरणासन्न भएको छ,
डलर अर्थतन्त्र गर्ल्याम्म ढलेको छ,
होटलहरू भूत बंगला भएको छ,
पर्यटक शून्य छ,
मेरो ठमेल,
न त उठ्न सक्छ,
न त सुत्न सक्छ !
……………
नवराज पन्त, काठमाडौं